२०७८ श्रावण २२ गते , शुक्रवार

बल्ल पूरा भयो विद्यार्थी र स्थानीयले उठाएको साझा माग, कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालन

बल्ल पूरा भयो विद्यार्थी र स्थानीयले उठाएको साझा माग, कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालन :: Times of Pradesh

(पार्थ मण्डल) झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापनाको माग गर्दै वृहत् सडक प्रदर्शन गरेका विद्यार्थीहरूको माग बल्ल तीन वर्षपछि पूरा भएको छ । 
दुई महिनाको अवधिमा सर्पको डसाइबाट तीन विद्यार्थीले उपचार अभावकै कारण अकालमा ज्यान गुमाएको भन्दै कचनकवलका विद्यार्थीहरूले २०७५ साल भदौ १८ गते सडक प्रदर्शन गर्दै स्थानीय सरकारको ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएका थिए । विद्यार्थीको प्रदर्शन, दबाब र ध्यानाकर्षणपछि गाउँपालिकाले सर्पदंश उपचार केन्द्र स्थापनाको पहल त्यही बेलादेखि सुरु गरे । 
गाउँपालिका र स्वास्थ्य शाखाको लामो प्रयास र पहल पश्चात् प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सर्पदंश उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । गाउँपालिकाको करिब २५ लाख लागतमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रको एक कार्यक्रमका बिच यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले उद्घाटन गरेका हुन् । 
उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य लिङ्देनले विद्यार्थीहरूकै दबाब कारण गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन सफल भएको जिकिर गरे । 
सर्पले डसेर अकालमा मृत्यु हुने समस्याबाट छुटकारा पाउन विद्यार्थीसहित सम्पूर्ण गाउँवासीको साझा माग समेत रहेको बताउँदै प्रतिनिधिसभा सदस्य लिङ्देनले भने, ‘तीनै तहका सरकारको प्रयास र पहल पश्चात् गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन हामी सफल भएका छौँ, अब सर्पको डसाइबाट समयमै उपचार नपाई कोही पनि गाउँवासीले अकालमै ज्यान गुमाउने छैन ।’ 
यो अरू योजना जस्तै प्रधानमन्त्री र मन्त्रीले तोक लगाएर दिने विषय जस्तो सजिलो नभएको पनि उनले प्रस्टाए । सर्पको समस्या मनसुन सुरु भएपछि हुने हो । ‘पहिला गाउँपालिकामा बर्खाको बेला पुरै डुबानमा पर्थ्यो, गाउँघरलाई डुबानबाट बचाउ गाउँपालिकाले मेची नदीमा तटबन्ध लगाएर थुनिदिएको छ, उनले भने, ‘त्यही भएर अहिले गाउँपालिकालाई डुबानबाट जोगाउन सकेका छौँ र सर्पको बिगबिगी पनि पहिलाको भन्दा कम भएको छ ।’ खेतबारीमा पानी जम्मा भएपछि सर्प आगन घरभित्रै छिर्ने गरेको बताउँदै उनले भने, ‘यति गर्दागर्दै पनि अघिल्लो महिना दुई जनाले अकालमै ज्यान गुमाएको घटना दुखदायी छ ।’ 
जिल्लामा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूमा आइसियु र भेन्टिलेटरको सुविधा नभएकोले कचनकवलमा सञ्चालनमा आएको उपचार केन्द्रमा आइसियु र भेन्टिलेटरको पनि छिट्टै व्यवस्थापन गरिने उनको भनाई छ । 
कचनकवलबाहेक बाह्रदशी, भद्रपुर, हल्दिवारीलगायत छिमेकी राष्ट्र भारतका नागरिकहरू समेतलाई सेवा प्राप्त गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे । 
त्यस्तै प्रदेशसभा सदस्य वसन्तकुमार बानियाँले गाउँवासीले लामो समयदेखि भोगिरहेको एउटा पीडादायी समस्याको आज अन्त्य भएको बताए । ‘दक्षिणी झापाको कचनकवलमा बस्ने नागरिकहरू यो देशको दोस्रो दर्जाको नागरिक जस्तै भइसकेको बताउँदै उनले भने, एउटै मात्र विषयले होइन, विकास तथा समृद्धि र चेतनाको हिसाबले पनि यहाँका नागरिक हरेक क्षेत्रबाट पछाडि परेको थियो । ‘अब त्यसको अन्त्य पनि बिस्तारै हुँदै गरेको छ, उनले भने, ‘बर्खा र गर्मीको समयमा यसका क्षेत्रका बासिन्दाले विषालु सर्पको डसाइबाट अकालमै ज्यान गुमाउँदै आएका थिए, अब यो समस्याको पनि आजबाट अन्त्य भएको छ ।’ उपचार केन्द्रका लागि १० लाख रुपैयाँ सहयोग गर्ने उनले प्रतिबद्धता समेत जाहेर गरे । 
गाउँपालिकाले दुई वटा आकस्मिक र चार वटा नर्मल बेड राखेर सर्पदंश उपचार कक्ष तयार गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गत यही जेठ २७ गते कचनकवल गाउँपालिकालाई सञ्चालनको अनुमति दिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । 
‘उपचार केन्द्रमा चाहिने आवश्यक स्वास्थ्य उपकरण, जनशक्ति, औषधिको पनि व्यवस्थापन गरिसकेका छौँ, उनले भने, ‘सर्पले कसैलाई डसेमा आधा घण्टाभित्र यस उपचार केन्द्रमा ल्याउन सबै नागरिकलाई आग्रह गर्छु ।’ अब उपचार केन्द्रमा चाहिने एउटा भेन्टिलेटरको लागि पनि पहल र प्रयास गरिरहेको उनको भनाई छ । 
सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि गाउँपालिकाबाट करिब २५ लाख बजेट प्राप्त भएपछि हामीले व्यवस्थापन मिलाएर सेवा सञ्चालन ल्याउन सफल भएको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष रवि ओझाले जानकारी दिए । समितिले उपचार केन्द्र सञ्चालन सहज बनाउन सर्पदंश सञ्चालन उपचार कोष खडा समेत गरिसकेको उनले बताए । सर्प दंशसहित यस स्वास्थ्य केन्द्रमा कुकुर तथा विषालु जीवजन्तुले टोक्ने उपचार पनि सुरु गरिसकेको उनले बताए ।

गाउँपालिका अध्यक्ष अन्जार आलमको अध्यक्षतामा भएको कार्यक्रममा राजनीति दलका तर्फबाट तुलाराम अधिकारी, भगिरथा अधिकारी, जग्गादाता चिन्तामणि खरेललगायतले मन्तव्य राखेका थिए । रविचन्द्र ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन विकास घिमिरेले गरेका थिए । त्यस अवसरमा सञ्चारकर्मीसहित ३० जनालाई सम्मान गरिएको थियो ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment