२०७८ जेष्ठ २९ गते , शनिवार

सर्पको डसाइबाट कचनकवलमा फेरि एक जनाको ज्यान गयो, गाउँपालिकाले स्वीकृत नपाउँदा सर्प दंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ

एक साताभित्रै विषालु सर्पको डसाइबाट दुई जनाको मृत्यु

सर्पको डसाइबाट कचनकवलमा फेरि एक जनाको ज्यान गयो, गाउँपालिकाले स्वीकृत नपाउँदा सर्प दंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ :: Times of Pradesh

(पार्थ मण्डल) झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्प दंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ हुँदा स्थानीयले अकालमै ज्यान गुमाउनु परिरहेको छ । 
उपचार केन्द्रको अभावले एक साताभित्रै गाउँपालिकामा विषालु सर्पको डसाइबाट दुई जनाको ज्यान गएको छ ।  साबिक बालुवाडी गाविस हाल कचनकवल ७ स्थित खेरिबारी निवासी ४३ बर्षीया राम कुमारी कुँवरको विषालु सर्पको डसाइबाट शनिवार बिहान मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । 
शनिवार बिहान ८ बजेर २५ मिनेटमा घरभित्रै सरसफाइको काम गर्दै आएकी कुँवरलाई मुसाले बनाएको दुलोभित्र बसेका विषालु सर्पले खुट्टामा डसेका थिए । सर्पले खुट्टामा डसेपछि परिवारजनले उनको खुट्टालाई टियुवले बाँधेका थिए । खुट्टा टियुवले बाँधेकोमा केही स्थानीयले आपत्ति जनाउँदै तत्काल खोल्न लगाएका थिए । त्यसपछि परिवारजनले कुवरलाई उपचारका लागि मोटरसाइकलमा हालेर चाराआलीस्थित सर्प दंश उपचार केन्द्रले लगे । उपचार केन्द्रमा पुग्दा ९ बजेर १० मिनेट भएको थियो । त्यस अवधिमा कुवरको शरीरभरि विष फैलिसकेको थियो । उपचार केन्द्रमा आइसियु नहुँदा थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको थियो ।

पाँच दिनअघि अर्थात् जेठ १८ गते परिवारजनले उपचारका लागि ढिलासुस्ती गराउँदा कचनकवल गाउँपालिका ४ स्थित फर्कागाछी निवासी ५९ वर्षीय चवनलाल गणेशको गोमन सर्पको डसाइबाट मृत्यु भएको थियो । नजिकैको खेतबारीमा गाईबस्तु चराउन गएका गणेशलाई परालको कुनिउँमा बसेका सर्पले डसेका थिए । उनलाई उपचारका लागि सर्पदँश उपचार केन्द्र नलगेकी सुरुमा धामी झाँकी कहाँ लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि मात्र सर्पदँश उपचार केन्द्र लैजाँदा उनको मृत्यु भएको थियो । गाउँपालिकाभित्रै सर्पदँश उपचार केन्द्र नहुँदा हरेक वर्ष सर्पको डसाइबाट स्थानीय ज्यान गुमाउँदै आएको छ । 

विभागबाट स्वीकृत नआउँदा सर्प दंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ

सर्प दंशका बिरामीको उपचारको लागि गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा आवश्यक जनशक्ति र भौतिक व्यवस्थापनको कार्य पूरा गरिसकेको छ । तर, स्वास्थ्य विभागको सञ्चालन अनुमति र व्यवस्थापन स्वीकृति नआइसकेकाले तत्काल उपचार सेवा सुरु गर्न नसकिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनको पहलमा गाउँपालिका अध्यक्ष अञ्जार आलमले सर्प दंश उपचार केन्द्र स्थापनाको तयारी जुटेका छन् । प्रतिनिधि सदस्य लिङदेनले संसद् कोष र अध्यक्ष आलमले गाउँपालिकाबाट उपचार केन्द्रका लागि अनुमानित २० लाख बजेट विनियोजन गरेका छन् ।

सोही बजेटबाट पहिलो चरणमा आवश्यक जनशक्ति र भौतिक व्यवस्थापन कार्य पूरा गरेको स्वास्थ्य शाखा प्रमुख यादवको भनाई छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा पुस २७ गते नै सर्प दंश उपचार केन्द्रको स्वीकृतिका लागि गाउँपालिकाले पत्र पठाइसकेको छ । त्यहाँबाट स्वीकृत नआउँदा उपचार केन्द्र सुरु गर्न ढिलाइ भइरहेको उनको भनाई छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र बनियानी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रवि ओझाका अनुसार उपचार केन्द्रका लागि गाउँपालिकाले सबै तयारी पूरा गरिसकेको बताए । 
गत वैशाख ११ गते इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको चिकित्सकको टोलीले उपचार केन्द्रको स्थलगत अनुगमन गरिसकेको बताउँदै उनले भने, 'महाशाखाका डा. महेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएकोले स्वीकृति हुन केही ढिलाइ भएको हो ।' डा. गिरी सङ्क्रमणमुक्त भए लगतै फाइल स्वीकृत गरी पठाइदिने र त्यसपछि उपचार केन्द्र सञ्चालन ल्याउने उनको भनाई छ ।
 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment