सीमा सिलमा पनि अवैध कारोबार : सशस्त्रद्वारा सय कार्टुन चाइनिज स्याउ र १० लाखको कपडा बरामद
झापा । अहिले खुला सीमा क्षेत्र स्थानीय प्रशासनले सिल गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले भारतसँग जोडिएको खुला सीमा क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गर्दै नाका सिल गरेको हो ।
सुरक्षाकर्मीले खुला नाका सिल गरे पनि नाकाबाट हुने अवैध कारोबार भने अझै रोकिएको छैन । सशस्त्र प्रहरीले ज्यामिरगढी नाकाबाट १० लाख बढीको भन्सार छलेको कपडा बरामद गरेको चार दिन पछि केचनाबाट ठुलो परिणामको चाइनिज स्याउ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेड क्वाटर गण झापाले जनाएको छ । कचनकवल गाउँपालिका १ स्थित तोरीवारिबाट बिहीबार राती १० बजे एक सय कार्टुन चाइनिज स्याउ बरामद गरेको छ । सो स्याय स्थानीय कारोबारी मनोज रायाको रहेको खुलेको छ । उनको घरमा दशगजा नजिकै पर्छ । सीमा पिलर १२२ नजिकैबाट चाइनिज स्यायको तस्करी भइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट घेरावारि खटिएको प्रहरी टोलीले सो परिणामको स्याय बरामद गरेको हो ।
ट्याक्टरमा हालेर सीमातर्फ स्याय लगिरहेको सूचना पाएपछि बिओपी घेराबारीसहित केचनाको टोली पनि घटनास्थल पुगेको थियो । संयुक्त टोलीले बरामद गरेको स्यायको मूल्य ८० हजार रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेड क्वाटर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । बाटैबाट स्याय बरामद गरिएको कारण ट्याक्टर छाडिदिएको जनाइएको छ । दशगजा क्षेत्रबाट बरामद गरिएको भए ट्याक्टर पनि भन्सार बुझाइन्थ्यो सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा केचना, घेरावारि, टाघनडुब्बा नाकाबाट ठुलो परिणामको चाइनिज स्यायको तस्करी भइरहेको छ । त्यहाँका कारोबारीले आफू अनुकूल प्रहरीलाई सेटिङ मिलाएर नेपालबाट भारत स्याय पठाउने र भारतबाट अवैध सरसामान भित्राउने कार्य गरिरहेको स्थानीयको दाबी छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीबाट खटिएका टोलीले वैशाख २० गते ठुलो परिणामको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको कपडाका पोकाहरूलाई सशस्त्र प्रहरीले सीमा नाकाबाटै बरामद गरेको गणका एसपी पाण्डेले बताए । तस्कर समूहले मेची नदी तैरिएर टाउको हालेर सो कपडाका बोराहरू ल्याएको बताइएको छ । सो सामान भूतपूर्व प्रहरी कर्मचारी राजेश राजवंशी रहेको खुलेको छ । बरामद गरिएको कपडाका पोकाहरूमा साडी, जिन्स पेन्ट, कुर्ती, कुर्ता सुरुवाल, लेगिज लगायत सामान रहेको थियो ।
बरामद गरिएको कपडालाई भद्रपुर भन्सार कार्यालय बुझाइसकेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै कचनकवल गाउँपालिका ५ पाठामारीबाट सशस्त्र प्रहरीले लागु औषध बरामद गरेको छ । सीमा नाकामा बिओपी पाठामारीबाट खटिएको टोलीले गस्ती गरिरहेको र सोही समयमा एक जना व्यक्तिले सशस्त्रलाई देख्न साथ झोला राखेर भागेका थिए । सशस्त्रले त्यस झोलालाई खोलेर हेर्दा गाँजा, सिरप र लागु औषध ट्याब्लेट बरामद गरेको जनाइएको छ ।