२०८२ बैशाख १६ गते , मंगलबार

ओलीले राजीनामा दिएपनि तत्काल कांग्रेस नेतृत्वको सरकार बन्दैन : विमलेन्द्र निधी

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २१ गते , शनिबार
ओलीले राजीनामा दिएपनि तत्काल कांग्रेस नेतृत्वको सरकार बन्दैन : विमलेन्द्र निधी

झापा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेपनि तत्काल राजीनामा दिने संभावना नदेखिएको बताएका छन् ।
कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै पार्टीको नेतृत्वमा तत्काल नयाँ सरकार बनाउने संभावना नरहेको उनले बताए । नेपाल प्रेस युनियन झापाद्वारा बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपसभापति निधीले जनता समाजवादी पार्टीले नयाँ सरकारमा आउनका लागि स्पष्ट कुरा नराखेकाले नयाँ सरकार निर्माण प्रक्रिया अन्यौलमा परेको स्पष्ट पारे । नैतिक हैसियत गुमाएर सत्तामा बसिरहेका प्रधानमन्त्री ओलीलाई अपदस्त गरेर अर्को सरकार बताउनु पर्ने निर्णयमा कांग्रेस पुगेको जानकारी दिंदै निधीले त्यसका लागि जनता समाजवादी पार्टीको स्पष्ट कुरा नआउनु र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण कांग्रेस निर्णयमा पुग्न नसकेको बताए । ‘सरकार बनाउनका लागि कांग्रेस, माओवादी र जसपा एकै ठाउँमा उभिनुपर्छ ’उनले भने ।

उपसभापति निधीले अदालतको आदेशपछि प्रधानमन्त्रीको सत्तामा बसिरहने नैतिक अधिकार नरहेको उल्लेख गर्दै भने–‘संसदलाई निरर्थक बनाउने काम प्रधानमन्त्रीबाट भएको छ ।’ पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनले थपे–‘प्रधानमन्त्रीकै कारण पुनःस्थापित संसद अकर्मण्य र अनुत्पादक भएको छ ।’

आफैले विघटन गरेको संसद अदालतले पुनःस्थापित गरेसंगै प्रधानमन्त्रीको सत्तामा बस्ने नैतिक अधिकार सकिएको निधीको भनाई थियो । सो क्रममा पार्टीको १४ औं महाधिवेशन आगामी भदौमा हुन नसके पार्टीको बैधानिकता र संवैधानिक हैसियत दुवै समाप्त हुने बताउँदै क्रियाशील सदस्यता वितरणदेखि गाउँ÷नगरको नेतृत्व चयनमा सक्रिय हुनुपर्नेमा जोड दिए ।
देशमा उत्पन्न परिस्थितिका कारण पार्टी महाधिवेशन र सभापतिको उम्मेद्वारीको कुरा ओझेलमा परेको बताएका निधीले १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थनमा सभापतिको उम्मेद्वारी दिने जानकारी दिए । नेपाल प्रेस युनियनका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा स्वागत उपाध्यक्ष गिरीराज भट्टराई र सञ्चालन सचिव डिल्लीराम घोर्साईँले गरेका थिए ।

सम्बन्धित समाचार