काँग्रेस सभापति देउवा र पौडेल झापा आउँदै
बिर्तामोड। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू झापा आउने भएका छन् ।
प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ गिरिराजकुमारी प्रसाईँको १३ औं पुण्य तिथि पारेर नेपाली काँग्रेस झापाले आगामी चैत २३ गते आयोजना गर्ने शोक सभालाई सम्बोधन गर्न सभापति देउवा झापा आउन लागेका हुन ।
चैत २४ गते बुद्ध शान्ति–७ शान्तिनगरमा निर्माण भएको शहीद याम आचार्यको सालिक अनावरण लगायतका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस झापाका प्रवक्ता लोकराज ढकालले जानकारी दिए।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल आगामी वैशाख ४ गते झापा आउनु हुने भएको छ । गौरीगञ्ज–६ खगुरगाछीमा निर्माण भएको शहीद श्यामसुन्दर यादवको सालिक अनावरण लगायतका विभिन्न कार्यक्रममा पौडेलको प्रमुख आतिथ्य रहने नेपाली काँग्रेस झापाले जनाएको छ ।
त्यसैगरी गिरिराजकुमारी प्रसाईँको निधनप्रति शोक व्यक्त गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला चैत १८ गते गृह जिल्ला झापा आउने कार्यक्रम तय भएको छ ।
यसैबिच नेपाली काँग्रेस झापाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नवीन्द्रराज जोशी, प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ गिरिराजकुमारी प्रसाईँलगायत सात जना प्रजातन्त्रवादी नेताहरूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति, क्षेत्रीय, प्रदेश क्षेत्रीय, गाउँ÷नगर सभापतिहरूको संयुक्त बैठकले स्व। जोशी, प्रसाईँ, प्रजातन्त्र सेनानी सङ्घ झापाका पूर्व अध्यक्ष तमर राई, जिल्ला समितिका पूर्व सदस्य परशुराम राजवंशी, प्रतिबन्धित अवस्थामा बुद्ध शान्ति गाउँ समितिका सभापति शुभ नारायण राजवंशी, साबिक धाइजन गाविसका पूर्व उपसभापति इन्द्रमणि सिटौला, महिला नेतृ ललिता भट्टराई लगायतको निधनप्रति शोक प्रस्ताव पारित गरिएको नेपाली काँग्रेस प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँले जानकारी दिए ।
काँग्रेस केन्द्रीय सदस्य सुधीरकुमार सिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला लगायतका नेताहरूले प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूको निधनले देशलाई नै अपूरणीय क्षति पुगेको धारणा राखेका थिए ।