२०८१ चैत्र १३ गते , बुधबार

झापामा दिनहुँ लागुऔषधको कारोबार, बिर्तामोडमा ब्राउन सुगरसहित चार जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ८ गते , आईतबार
झापामा दिनहुँ लागुऔषधको कारोबार, बिर्तामोडमा ब्राउन सुगरसहित चार जना पक्राउ

झापा । झापा दिनहुँ प्रतिबन्धित लागु औषध बिक्री वितरण गर्ने कारोबारी र प्रयोगकर्ता पक्राउ पर्ने थालेका छन् । झापा प्रहरीले लागु औषध नियन्त्रण तथा रोकथाम अभियान थालेसँगै दिनहुँ कारोबारी र प्रयोगकर्ता पक्राउ पर्न थालेका हुन ।

यसैक्रममा झापा प्रहरीले आइतबार बिर्तामोड नगरपालिका ३ स्थित भद्रपुर रोडबाट चार जनालाई लागु औषधसहित पक्राउ गरेका छन् ।  विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनि र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ६ बस्ने ३५ वर्षीय पञ्चानन्द राजवंशी, सोही ठाउँका ५० वर्षीय हेमनारायण राजवंशी, मोरङ उर्लाबारी नगरपालिका ६ बस्ने २० वर्षीय विष्णु पोदार र सोही ठाउँका १६ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् । उनीहरूको साथबाट प्रहरीले लागु औषध एमफेटामाईन ६० ग्राम र  ब्राउन सुगर ८० ग्राम बरामद गरेको छ ।  पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा थप अनुसन्धानका लागि राखिएको छ । उनीहरूलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइने डिएसपी थापाले बताए । 

सम्बन्धित समाचार