२०८३ बैशाख २ गते , बुधबार

राप्रपा मेचीनगरको अध्यक्षमा सबिना बजगाईँ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ६ गते , शुक्रबार
राप्रपा मेचीनगरको अध्यक्षमा सबिना बजगाईँ

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरको अध्यक्षमा सबिना बजगाईँ चयन भएकी छिन् । शुक्रवार मेचीनगर–६ स्थित काँकडभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभा हलमा सम्पन्न एकताको अधिवेशनबाट आगामी कार्यकालका लागि बजगाईँलाई अध्यक्षमा चयन गरिएको हो ।

साथै २० सदस्यीय नगर समिति चयन गरिएको छ । जसको सदस्यहरुमा राजन प्रसाईँ, युवराज प्रसाईँ, गङ्गाराम खरेल, डम्बरप्रसाद भण्डारी, राजेन्द्र बुढाथोकी, दिवाकर काफ्ले, भवानीप्रसाद गुरागाईँ, सुनिता शर्मा रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरूमा दीपेश राई (गोरे भाइ), चन्द्र निरौला, रुद्र रिजाल, शेखर बस्नेत, कर्णबहादुर थापा, खड्गबहादुर कार्की, अम्बरबहादुर थापा, कुमार भुजेल, शेरबहादुर भण्डारी र देवी आचार्य रहेको निर्वाचन समिति संयोजक भवानी राजवंशीले बताए ।

२५ सदस्यीय रहने नगर समितिमा ५ जना पछि थप गरिने निर्वाचन समिति सदस्य टङ्क कटुवालले जानकारी दिए । राप्रपा नेपालको मेचीनगर अध्यक्षमा सुशील आचार्य रहेका थिए ।

यसअघि एकता अधिवेशनको उद्घाटन प्रमुख अतिथि राप्रपाका महामन्त्री एवम् सांसद राजेन्द्र लिङ्देनले गरेका थिए । उनले अन्य पार्टीहरू फुटिरहेको वर्तमान अवस्थामा राप्रपाका शक्तिहरू एकीकरण हुनु सुखद पक्ष भएको बताए । कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, केन्द्रीय सदस्य भक्ति सिटौला, रोशन कार्की, पार्टी जिल्ला अध्यक्ष अमर विष्ट, राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्घ झापा अध्यक्ष राधा कार्की,सञ्चारकर्मी जिएन शर्मालगायतले मन्तव्य राखेका थिए । मेचीनगर समितिका सचिव चन्द्र निरौलाको सञ्चालन रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिता शर्मा र अध्यक्षता सुशील आचार्यले गरेका थिए ।

सम्बन्धित समाचार