वर्तमान राजनीतिक गतिविधिप्रति पूर्व राजा ज्ञानेन्द्रको तीव्र असन्तुष्टि
.jpg)
झापा। पूर्व राजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक गतिविधिप्रति तीव्र असन्तुष्टि जनाएका छन् । दलहरूबिचको कलहले देश र जनताको भविष्य अन्धकारमा पुग्न लागेको चिन्तासहित उनले आफूले सबै गतिविधि नजिकबाट नियालिरहेको बताए । दमकको निजी निवासमा केही महिनादेखि रहेका पूर्व राजा शाहले राजनीतिक भेटघाटका क्रममा त्यस्तो भनाइ राखेका हुन् ।
नियमित रुपमा भेटघाट जारी राखेका शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भक्ति सिटौलासँग बिहीबार भएको भेटमा समसामयिक विषयमा लामो कुराकानी गरेका थिए । सिटौलाका अनुसार पूर्व राजा शाहले जनताको असन्तुष्टिलाई आफूले सुनिरहेको बताएका थिए । ‘जनताको आशा अपेक्षाअनुरूप काम हुन सकिरहेको छैन , देश सन्तोषजनक रुपमा अगाडि बढ्न सकेको छैन , दलहरूको आन्तरिक कलहले विकास निर्माण रोकिएको छ ’ शाहको भनाइ उद्धृत गर्दै सिटौलाले भने ,‘ दलहरूको गतिविधिप्रति उहाँले तीव्र असन्तुष्टि जनाउनु भयो ।’
‘यो बेलामा तपाईँको अहम् भूमिका जरुरी छ’ भन्ने जिज्ञासामा पूर्व राजा शाहले आफ्नो भूमिका परिस्थितिले सिर्जना गर्ने भन्दै अहिले नै हतार गर्न नहुने प्रतिक्रिया दिएको सिटौलाले बताए । शाहले सत्तारुढ दलसँगै राप्रपाको राजनीतिप्रति समेत चासो राखेका थिए । राप्रपाको सङ्गठन निर्माण ,एकता , मेलमिलापलगायतका विषयमा उनले जिज्ञासा राखेको सिटौलाले बताए । ‘राप्रपाका नेताहरू किन मिल्न नसकेका , पार्टीले ठोस भूमिका खेल्न नसकेको भनेर उहाँले जिज्ञासा राख्नु भयो ’सिटौलाले भने ,‘मैले राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डासहित आदर्श र अवसरलाई सँगसँगै लान नसक्दा यो अवस्था आएको धारणा राखेँ ।’
शाहले राप्रपाका नेताहरू कमल थापा , केशर विष्ट , प्रकाशचन्द्र लोहनी , धवल शमशेर राणालगायतका बारेमा सोधेको सिटौलाले जानकारी दिए । उनीहरूबिच पूर्व राजा शाहको दार्जिलिङ, इलाहावाद लगायतको भ्रमणका बारेमा पनि कुराकानी भएको थियो । केही महिनादेखि दमकमा रहेका शाहले भारत भ्रमण गरेका थिए । पटक पटक भेटघाट गर्दै आएका राप्रपा नेता सिटौलाले शाहसँग बिहीबार बिहान ११ बजेदेखि ११:४५ बजेसम्म कुराकानी गरेका थिए । आफूले खुलेर कुराकानी गर्ने मौका पाएको उनले बताए । काठमाडौंमा रहेका सिटौलालाई भेट्न बोलाएपछि उनी बुधवार साँझ राजधानीबाट फर्किएका थिए । शाहसँग राप्रपाका नेताहरू राम थापा , गोपाल पौडेललगायतले भेटघाट गरिसकेका छन् । सङ्घीय सांसद एवं पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले भने अहिलेसम्म भेट्न नपाएको जनाइएको छ ।