संवेदनशील अङ्गभित्र ब्राउनसुगर, झापामा दुई भारतीय महिला पक्राउ

झापा । झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला खोरीवारि थाना मैनागुरी ग्राम बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही ठाउँका ३२ बर्षीया अनिता हेमरम रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए । सीमा नाकाबाट चोरी निकासीको माध्यमबाट ब्राउन सुगर नेपाल भित्राइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका १५ ज्यामिरगढी फडानी स्थित कासघारीबाट मङ्गलवार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट १५० ग्राम ब्राउन सुगर बरामद गरेको छ । महिलाहरूले ब्राउन सुगर संवेदनशील अङ्गभित्र लुकाएर ल्याएको प्रहरीले जनाएको छ । बरामद गरिएको ब्राउन सुगरको नेपाली बजार मूल्य करिब ८ लाख रुपैयाँ पर्छ । पक्राउ परेका महिलाहरूलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइने र घटनाको विषयमा अनुसन्धान इलाका प्रहरी कार्यालय धुलाबारीबाट हुने प्रहरीले जनाएको छ । पछिल्लो समयमा मेचीनगर १५ स्थित ज्यामिरगढीका विभिन्न नाकाबाट लागुऔषधको कारोबार फस्टाएपछि झापा प्रहरीले त्यसतर्फ निगरानी बढाएको छ ।