‘एमालेसँग सत्ता साझेदारी हुँदैन’ : डा. शेखर कोइराला
झापा । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेकपा (एमाले) सँग सत्ता साझेदारी नहुने बताएका छन्। नेपाल प्रेस युनियन झापाले बुधवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता डा. कोइरालाले सर्वोच्च अदालतको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने दोस्रो फैसलापछि मुलुक झन् अन्योलतातर्फ गएको बताए।
प्रतिनिधि सभा विघटनको मुद्दा लिएर संविधान समाप्त पार्ने खेलमा ओली सरकार लागेका कारण एमालेसँग सहकार्य गरेर कांग्रेस सरकार नजाने उनले प्रष्ट्याएका छन्। ओली नेतृत्वको सरकारले देशलाई बर्बादीको दिशामा लगेको बताउँदै उनले भने, 'त्यसैले सत्तामा उनको निरन्तरता झन् दुर्भाग्यपूर्ण हुन्छ।'
‘प्रतिनिधि सभा पुनस्स्थापना पछि संविधान त बाँच्यो, तर सदन चल्नसक्ने अवस्था छैन’, नेता डा। कोइरालाले ठट्यौली गर्दै भने, ‘संविधान बनाउने पनि झापाली र संविधान समाप्त पार्ने खेलमा पनि झापाली नै लागे।'
‘अब देश र जनताको निम्ति उपयुक्त विकल्प मध्यावधि निर्वाचन भएको बताउँदै उनले भने, 'अब पार्टीको गतिविधि र कार्यक्रम चुनावी मुखी हुनुपर्छ।'
कांग्रेसका प्रभावशाली नेता कोइराला १४ औं महाधिवेशनको सिलसिलामा जिल्ला दौडाहामा रहेका छन्। पार्टी सभापतिको बलियो दाबेदार आफू रहेको बताउँदै उनले भने, 'कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि आफूसँगै सभापतिको दाबेदार रहेकाले उहाँसँग छुट्टै कुरा गर्नेछु।'
कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले ओली नेतृत्वको सरकारले अहिले सम्मका राजनीतिक उपलब्धि समाप्त पार्ने नियत राखेको टिप्पणी गरे।