२०८२ बैशाख १२ गते , शुक्रबार

भद्रपुर खानेपानी संस्थानकाे पानीमा भेटियो जुका !

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २५ गते , मंगलबार
भद्रपुर खानेपानी संस्थानकाे पानीमा भेटियो जुका !

(पार्थ मण्डल) झापा । तपाईँ धाराको खानेपानी पिउँदै हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईँले प्रयोग गर्ने खानेपानी कुन समिति वा संस्थानको हो रु त्यसको पानी कतिको स्वच्छ, सफा र खाने योग्य छ, एक पटक बुझेर मात्र प्रयोग गर्नुहोला ? किनभने नेपाल खानेपानी संस्थान भद्रपुरबाट वितरण हुने धाराको पानीमा जिउँदो पानी जुका भेटिएको छ । 
सुन्दा पनि सेवाग्राहीलाई अच्चम लाग्न सक्छ । तर, यो घटना सत्य हो । भद्रपुर नगरपालिका- ८ निवासी शर्मिला अधिकारीले धाराको पानीमा पानी जुका भेटाएकी छिन् । खाना पकाउने क्रममा भान्सा कोठामा धारा प्रयोग गर्दा अधिकारीले मङ्गलवार बिहान पानीसँगै पानी जुका फेला पारेकी छिन् । 
अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा पानी जुकाको फोटो र भिडियो समेत हालेर सबैलाई सचेत गराएकी छिन् । फोटो र भिडियो हाल्दै उनले लेखेकी छिन्– ‘गुड मर्निङ आज बिहान खानेपानीको धाराबाट आउनु भएको पाहुना ! ’ उनले फेसबुकमा फोटो र भिडियो हालेपछि कमेन्ट बक्समा अधिकांशले खानेपानी संस्थान भद्रपुरको लापरबाही र पानी प्रयोग गर्दा फिल्टर गरेर पिउन सुझाव दिएका छन् । 
धाराको पानीमा पानी जुका भेटिएको भन्दै टाइम्स अफ प्रदेशकर्मीले अधिकारीसँग टेलिफोन सम्पर्क गरेर घटनाको विषयमा बुझ्दा उनले भनिन्, ‘आज बिहान चिया पकाउनका लागि धारामा भाँडा थाप्दा पानीसँगै पानी जुका खस्यो ।’ ‘कालो रङ्गको पानी जुका भाँडामा खसेपछि संस्थानको पानी फिल्टर बिना खानयोग्य नभएको बल्ल थाहा भयो,’ उनले भनिन् ।’ 
अहिले खानेपानी संस्थान नयाँ पाइप लाइन विस्तारको काम गरिरहेको छ, पुरानोबाट नयाँ पाइप जडान गर्दा खनिएको माटोबाट पानी जुका पाइपमा पसेर आउन सक्ने उनको दाबी छ । ‘त्यही पनि यो मानव जीवनको स्वास्थ्यसँग खेलबाड हो, यस्तो गम्भीर विषयमा खानेपानी संस्थानले ध्यान दिनु पर्छ, उनले थपिन् ।’
खानेपानी संस्थान भद्रपुरले नगर क्षेत्रमा वितरण गर्दै आइरहेको पानी कतिको स्वच्छ र सफा छ यसै घटनाले पुष्टि गर्छ । 
पानी जुका तराई क्षेत्रमा गर्मीयामको बेला पानी जमेको ठाउँमा जस्तै ताल, पोखरी, धानको खेत आदी ठाउँमा पानीमा बस्छ। यो जुका पानीमा माछा जस्तै पौडीन सक्छ, यो जुका पहाडी पानी जुका भन्दा भिन्न प्रजातीको जुका हो। यो जुका पहाडी जुकाको अपेक्षा बिषालु पनि हुन्छ।
यता भद्रपुरका एक चिकित्सकले भने, ‘भद्रपुर खानेपानी संस्थानको पानी स्वच्छ र सफा छैन, मैले पनि प्रयोग गरेर भोगिसकेको कुरा हो ।’ अस्पतालमा पेट दुखेर आउने अधिकांश बिरामीको समस्या नै खानेपानीको कारणले हुन्छ । 
‘बिरामीलाई कहाँको पानी प्रयोग गर्नुहुन्छ भनेर सोध्दा अधिकांशमध्ये भद्रपुर खानेपानी संस्थानको पानी प्रयोग गर्ने बिरामी नै बढी भेट्टाएको छु,’ उनले भने, ‘भद्रपुर संस्थानको पानी प्रयोग गर्दा अनिवार्य फिल्टर वा तताएर पिउन प्रयोगकर्तालाई आग्रह गर्छु ।’ यता नेपाल खानेपानी संस्था भद्रपुरका पानी वितरण शाखा इन्चार्ज राजु बस्नेतका अनुसार नयाँ पाइप लाइन विस्तारसँगै जडान गर्ने क्रममा त्यस्तो घटना भएको हुन सक्ने स्वीकारे । 
‘हिलो माटो मुनि पाइप जोड्नु पर्ने हुन्छ, त्यही क्रममा पानी जीव वा कीटाणुसँगै फोहोर पानी धारासम्मै पुग्छ र त्यहीबाटै निस्किन्छ, त्यही भएको हुनुपर्छ, उनले भने ।’ धाराको पानीमा जुका भेटिएको जानकारी आइसकेको बताउँदै उनले भने, ‘भाँडामा जुकासहितको पानी कार्यालयमा ल्याइदिए त्यसको पनि परीक्षण गरिदिन्छौँ ।’
उनका अनुसार संस्थानले हरेक १५ देखि एक महिनाभित्र पानीको गुणस्तर परीक्षण गर्छ । त्यसपछि कार्यालयमै सार्वजनिक रूपमै सूचना टाँस गर्छ । अहिले मर्मत सम्भारको काम भइरहेकोले केही दिन फिल्टर गरेर पानी प्रयोग गरिदिनु हुन उनले नगरवासीलाई आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार