२०८२ बैशाख ५ गते , शुक्रबार

काँग्रेस सरकारको नेतृत्व लिन तयार छ : कृष्णप्रसाद सिटौला

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २४ गते , सोमबार
काँग्रेस सरकारको नेतृत्व लिन तयार छ : कृष्णप्रसाद सिटौला

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन्। साथै उनले लोकतान्त्रिक शासन व्यवस्थाको संरक्षणका लागि कांग्रेस  निर्वाचनमा जान पनि तयार रहेको स्पष्ट  पारे।

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल महिला संघ झापाले गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन सक्ने सम्भावना न्यून रहेको बताए। 

संसदले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न नसके मुलुक निर्वाचनमा जाने उल्लेख गर्दै उनले संविधानको संरक्षण, लोकतन्त्रको रक्षा र न्यायिक सर्वोच्चताका लागि कांग्रेस  सरकारको नेतृत्व गर्न तयार रहेको बताए।  प्रधानमन्त्रीले विश्वासको मत  लिन नसकेको अवस्थामा बहुमत वा सहमतिका आधारमा नयाँ सरकार गठन गर्ने प्रावधान संविधानमा उल्लेख रहेको उनले प्रष्ट्याए।

संसद विघटनसम्बन्धी प्रधानमन्त्रीको गलत कदमलाई रोकेर सर्वोच्च अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको उनको टिप्पणी थियो। वर्गीय मुक्तिको लोकप्रिय नारा दिने कम्युनिष्टले जनमतको सम्मान गर्न नसकेको र बहुमतप्राप्त कम्युनिष्ट सरकारले जनताको जीवनस्तर सुधार गर्ने कुनै पनि काम गर्न नसकेको उनको दावी छ। ‘कम्युनिष्ट नेतृत्वको सरकार गठन भएको तीन वर्षमा जनताले के पाएरु’ उनले भने, ‘कम्युनिष्टले देश, जनता र राष्ट्रियताको पक्षमा काम गर्न सक्दैनन्।’
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले महिलाको हरेक क्षेत्रमा समान सहभागिता सुनिश्चित गर्न  माग गरिन्। अर्का कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले महिलाले आरक्षणको ३३ प्रतिशत र खुल्ला ६७ प्रतिशत दुवैमा प्रतिष्पर्धा गर्न सक्नु पर्ने बताए।
त्यसअवसरमा नेता सिटौलाले  प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याउने  हस्तमाया भण्डारी, हेमकुमारी घिमिरे, पूर्णकुमारी घिमिरे, सीता बाँस्कोटा लगायतलाई सम्मान गरेका थिए। आयोमेलबाट

सम्बन्धित समाचार