२०८२ बैशाख ५ गते , शुक्रबार

प्रधानमन्त्री ओलीको झापा आउने भोलिको कार्यक्रम स्थगित

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २० गते , विहीबार
प्रधानमन्त्री ओलीको झापा आउने भोलिको कार्यक्रम स्थगित

झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउने कार्यक्रम स्थगित भएको छ। प्रधानमन्त्री ओली यसैसाता तेस्रो पटक झापा आउन लागेका थिए। 
भोलि शुक्रबार अर्थात् फागुन २१ गते ४८ औं सुखानी शहीद दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० झापाले आयोजना गर्न लागेको बृहत् जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली झापा आउने कार्यक्रम तय भएको थियो।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्लगायत झापा आउन लागेपछि ओली समूहका नेकपाले प्रचारप्रसार तीव्र पारेका थिए।

नेकपा झापाले बुधबार बिर्तामोडस्थित हिकोला हेरिटेजमा पत्रकार सम्मेलन गर्दै सो विषयमा जानकारीसमेत गराएका थिए। अन्ततः प्रधानमन्त्री ओली नआउने भएपछि बिर्तामोडमा आयोजना गर्न लागिएको बृहत् जनसभाको कार्यक्रम स्थगित गर्नु परेको प्रदेश सांसद वसन्त बानियाँले जानकारी दिए।

बुधबार बेलुकासम्म प्रधानमन्त्री आउने कार्यक्रम तय भएको बताउँदै सांसद बानियाँले भने, ‘फागुन २३ गते प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपर्ने र त्यसको आवश्यक तयारीमा उहाँ विभिन्न राजनीतिक दल, मन्त्री, नेता तथा कार्यकर्तासँग छलफल गर्नुपर्ने भएकोले झापा आउने कार्यक्रम स्थगित भएको हो।‘  

प्रधानमन्त्री ओली आउन लागेपछि बुधबारदेखि नै जिल्लाका प्रहरी, प्रशासन सुरक्षा व्यवस्था मिलाउन तयारीमा जुटेका थिए। लिखित पत्र नआए पनि प्रधानमन्त्री ओली झापा नआउने निश्चित जानकारी प्राप्त भइसकेको प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डिएसपी राकेश थापाले जानकारी दिए।

झापा र इलाम जोडिएको सालवारिमा रहेको शहिद पार्क पुगेर प्रधानमन्त्रीले माल्यार्पण गरी बिर्तामोडको सभालाई सम्बोधन गर्ने कार्यक्रम तोकिएको थियो। तर, जिल्ला सुरक्षा समितिले प्रधानमन्त्रीको सुरक्षा र स्वास्थ्य संवेदनशीलता ख्याल गरेर सुखानी जान रोक लगाएका थिए।

सम्बन्धित समाचार