कार्यदलको समायोजन निर्णयप्रति जसपामा जिल्ला नेतृत्व तहको आपत्ति

झापा । जनता समाजवादी पार्टी नेपाल (जसपा) झापा जिल्ला समायोजन सहजीकरण कार्यदलको निर्णयप्रति जिल्ला नेतृत्व तहले खेद प्रकट गर्दै आपत्ति जनाएका छन् ।
समायोजन सहजीकरण कार्यदलले एकपक्षीय रुपमा झापा जिल्लामा पार्टी समायोजन टुङ्ग्याएको भन्दै फागुन १७ गते विज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो । कार्यदलले विज्ञप्तिसहितको निर्णय सार्वजनिक गरे लगतै त्यसको विरोधमा पार्टीका जिल्ला समिति अध्यक्ष दिपेनवाला राईसहितका जिल्ला पदाधिकारीहरूले मङ्गलवार प्रेस विज्ञप्ति प्रकाशन गरी आपत्ति जनाएका हुन । विज्ञप्तिमा पार्टीका उपाध्यक्षद्धय वीरबहादुर श्रेष्ठ, शिवन सोराली मगर, सचिव पुष्पप्रसाद पौडेल, सहसचिव अर्जुनकुमार राई र कोषाध्यक्ष राजु खड्काले हस्ताक्षर गरेका छन् ।
अन्तरिम विधान, समायोजन निर्देशिका २०७७ र २०७७ फागुन १९ गते जारी पार्टी परिपत्रमा जिल्ला पार्टी समायोजनको स्पष्ट आधारहरू तोकिएता पनि सो निर्देशिका विपरीत साबिक समाजवादी पार्टी जिल्ला समन्वय समितिसँग कुनै छलफल नै नगरी, सहमति नगरी गरिएको एकतर्फी समायोजन सम्पन्न भयो भनेर गरिएको प्रचार प्रति हाम्रो आपत्ति रहेको छ । पार्टी एकताको प्रक्रियाले देशैभरका कार्यकर्ताहरु उत्साहित बनिरहेको बेला प्रतिगमनलाई सहयोग पुग्ने गरी, पार्टी एकता विरोधी गतिविधि खेद जनक छ । सहजीकरण कार्यदलको गतिविधि पार्टी एकता विरोधी रहेको सो जारी विज्ञप्तिले पुष्टि गरेको छ ।
सो विज्ञप्तिप्रति हामी साबिक समाजवादी पार्टीको पदाधिकारीहरू खेद र भर्त्सना गर्दछौ । समायोजन नै नभएको झुटो विवरण प्रस्तुत गरी पार्टीको वफादार कार्यकर्ताहरू, पार्टी कमिटीहरूलाई भ्रमित तुल्याउने यस्ता गतिविधि निन्दनीय छ । कार्यदलले समायोजन गरिएका विवरण कपोकल्पित भएको र त्यस्तो भ्रममा नपर्न आम पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दमकमा सोमबार सम्पन्न कार्यदलको बैठकले अनुतसिंह राजवंशीको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला समन्वय समिति र २५ सदस्यीय जिल्ला कार्यकारिणी समिति गठन गरेको थियो । कार्यदलको निर्णय लगत्तै जस पाका केन्द्रीय सदस्य देउकुमार नेम्बाङ लगायतका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमै असन्तुष्ट पोख्दै आपत्ति जनाएका थिए ।