६ करोड ९० लाख लागतमा कनकाईमा विज्ञान पार्क
झापा । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले झापाको सुरुङ्गामा बन्न लागेको कनकाई सामुदायिक वनस्पति उद्यान तथा विज्ञान पार्कको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री ढकालले मंगलबार कनकाईका अन्य पर्यटकिय क्षेत्रहरु भीमसेनथान, धनुषकोटी लगायात सहित कनकाई सामुदायिक वन क्षेत्रमा बन्न लागेको विज्ञान पार्कको समेत अनुगमन गरेका हुन् । अनुगमन अघि कनकाई नगरपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले प्रदेश नम्बर एक अन्य क्षेत्र भन्दा धार्मिक तथा पर्यापर्यटनको क्षेत्रमा उर्बर भुमि भएपनि आवश्यक प्रचार प्रसार नहुँदा पर्यटन क्षेत्र पछाडि परेको बताए ।
मन्त्री ढकालले नेपालमा स्थिरताको नारा लगाएर कम्युनिष्ट पार्टीको बहुमत ल्याएपनि त्यो सुखद् हुन नसकेको स्वीकार गरे । कार्यक्रममा संघिय सांसद एलपी साँबा लिम्बूले कनकाई नगरपालिकामा बन्न लागेको विज्ञान पार्कले शैक्षिक र मनोरञ्जनात्मक पर्यटनलाई प्रवद्धन गर्ने बताए ।
६ करोड ९० लाखको लागतमा तीन बर्षभित्र उक्त पार्क निर्माण हुने बताइएको छ । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरक्षेत्रभित्र धार्मिक , प्राकृतिक र शैक्षिक पर्यटकिय क्षेत्रहरुको प्रचुर सम्भावना रहेको बताए ।
उनले माइवेनी मेला लाग्ने धनुषकोटी धाम , कोटीहोम , जामुनवारी सिमसारजस्ता दर्जन धार्मिक तथा पर्यटकिय क्षेत्र भएको जानकारी दिँदै विज्ञान पार्कले समेत थप सिकाई केन्द्र र पर्यटकका लागि नयाँ गन्तव्य बन्ने विश्वास ब्यक्त गरे ।