प्रधानमन्त्री ओली गृह जिल्लामा, झापामा दुई र मोरङमा एक कार्यक्रममा सहभागी हुने

झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइ पुगेका छन् । प्रधानमन्त्री ओली यती एयरलाइन्सको विमान चढेर दिउँसो १२ बजेर १५ मिनेटमा चन्द्रगढी विमानस्थल भद्रपुर आइपुगेका हुन् ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा सङ्घीय मन्त्री, प्रदेश मन्त्री, सांसद, नेता तथा कार्यकर्ताहरू पुगेका थिए । प्रधानमन्त्री ओली गृह जिल्लामा दुई कार्यक्रम र मोरङमा एक कार्यक्रममा सहभागी हुने जनाइएको छ । गृह जिल्लामा ओलीले पहिलो कार्यक्रम बिर्तामोड नगरपालिकाले ७ मा निर्माण गरेको प्रदेश गौरभ भिलेजको समुद्घाटन गर्ने छन् । प्रदेश गौरभ भिलेज बिर्तामोड नगरपालिकाले निर्माण गरेको हो ।
प्रधानमन्त्री ओलीको दोस्रो कार्यक्रम पूर्वाञ्चल क्यान्सर अस्पतालको समुद्घाटन रहेको छ । सो भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । अन्तिम कार्यक्रम उर्लाबारी नगरपालिका–९ स्थित नदी किनारमा रहेको सन्थाल बस्ती निर्माणको शिलान्यास रहेको छ । सरकारले अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत मोरङको उर्लाबारीमा सन्थाल बस्ती निर्माण योजना अगाडि बढाएको छ । प्रधानमन्त्री उर्लाबारीको कार्यक्रम सकेर आजै विराटनगर विमानस्थलबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।