ओलीको चुनौती : 'प्रधानमन्त्रीबाट हटाउन अविश्वासको प्रस्ताव ल्याएर देखाउनुहोस्'
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट हटाउन अविश्वासको प्रस्ताव ल्याएर देखाउन चुनौती दिएका छन् । झापा क्षेत्र नम्बर ५ मा आइतबार चीन–नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क) को शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक आन्दोलनका क्रममा जीवनमा धेरै मुद्दा खेप्ने व्यक्ति हुन, गल्ती नगर्ने मुद्दा हार्ने व्यक्ति भएकोले संविधान पुनर्स्थापना भएको मुद्दा हार्दा केही हुँदैन ।’
‘मुद्दा जिताइ दिएर कसैले मलाई प्रधानमन्त्री बनाएको होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘मलाई प्रधानमन्त्री नेपाली जनताले बनाएको हो, नेपाली जनताको हात र आर्सीवाद जहिलेसम्म मेरो ठाउँको छ, मुद्दा हारजितले केही हुने वाला छैन ।’
“प्रतिनिधिसभा पुनर्स्थापना भएकै दिन उहाँहरू चितवनको सभा छाडेर सोजै पेलेन चढेर काठमाडौँ फर्किनु भयो, र सरासर प्रधानमन्त्री ओलीलाई हटाउनु पर्यो भन्दै अरूको सरणमा पुग्नु भयो, तर उहाँहरूले पनि साथीहरूसँग सल्लाह गर्छु र तपाईँहरू कुन पार्टीको भन्दै अँध्यारो मुख लगाएर फर्काउनु भयो,” ओलीले भने, ‘पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री मै हुँ, संसद् पुनर्स्थापना अदालतमा मुद्दा लडेर ल्याउनु भएको छ भने केपी ओलीलाई हटाएर देखाउनुस् ।’
अविश्वासको प्रस्ताव राख्नुस्, प्रधानमन्त्रीबाट हटाएर देखाउनुस्, पहिला पनि यस्तै भएकै हो, जनताबाटै फर्किएर फेरि आएको हुँ, ओलीले भने, ‘अहिले फेरि हटाउनु सक्नु भयो भने फेरि तीन करोड जनताबाट दुई तिहाइ ल्याएर प्रधानमन्त्री बन्ने दाबी गर्छु ।’ उनले बोल्ने क्रममा राजीनामा दिन कुनै सङ्केत गरेनन् । बल्लबल्ल पार्टी एकता गरेको त्यो पनि फुटाएर हिडने गरेको बताउँदै उनले भने, ‘पद, पैसा र परिवारबाहेक अरू केहीमा ध्यान छैन, जे पनि मलाई चाहियो भन्ने । ’
यो कुनै चित्ताको विषय नभएको बताउँदै उनले भने, लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ, हामीले बलिदान पूर्ण सङ्घर्ष गरेर ल्याएको हो लोकतन्त्र । हाम्रो संविधान समय अनुसार परिमार्जन हुन सक्छ, तर संविधानको लोकतान्त्रिक मर्म र भावनालाई तलमाथि हुन दिइँदैन । प्रधानमन्त्री ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग सरकार वार्ता गर्न तयार छौँ । यसका लागि सरकार लागि परेको उनको भनाई छ ।