प्रधानमन्त्री ओली आज झापा आउँदै, यस्तो छ कार्यक्रम
झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक झापा आउन लागेका हुन्। प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क)को शिलान्यास कार्यक्रममा आउन लागेको बताइएको छ।
औद्योगिक पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा बन्न लागेको छ। नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्कको शिलान्यास गर्न ओली आउन लागेपछि उनको स्वागतका लागि ठाउँठाउँमा स्वागत गेट र कार्यक्रम स्थलमा विद्युत् सेवा र इन्टरनेट व्यवस्थापन गरिएको पार्क निर्माण समितिका अध्यक्ष गोविन्द थापाले जानकारी दिए। कार्यक्रमलाई भव्य बनाउन विभिन्न जातजातिका झाँकीसँगै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने उनले बताए।
एक हजार ६०० हेक्टरमा बन्ने औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर ९६३ अर्ब २१ करोड रुपैयाँ० लगानी गरेर निर्माण कार्य हुनेछ। औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ। पार्क चिनियाँ सहयोगमा निर्माण हुन लागेको हो। यो परियोजना २२ सय बिघा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको अध्यक्ष थापाले बताए।
त्यसैगरी प्रधानमन्त्री ओलीले दमक नगरपालिका-१ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतारादेखि झापाको बाहुनडाँगीसम्मका खोलाहरूमा निर्माण हुने अन्दाजी तीन दर्जन पुलको दमकस्थित बेलडाँगी रतुवा खोलाबाट संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यस्तै‚ दमक-१० स्थित नलवारी जोड्ने मावा खोलाको पुल र सेतुमारीस्थित रतुवा खोलामा निर्माण भएको गौरादहको बालुवथान जोडने पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रधानमन्त्री ओली झापा आउन लागेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। यति एयरलाइन्सबाट बिहान १० बजे भद्रपुर विमानस्थल आउने र त्यसपछि उनी विभिन्न कार्यक्रममा सहभागी हुन दमक प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री विभिन्न कार्यक्रममा सहभागीपछि आज बेलुका नै काठमाडौँ फर्किने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।