२०८२ बैशाख १६ गते , मंगलबार

राप्रपा कचनकवल गाउँ समितिको अध्यक्षमा पुनः रविचन्द्र ओझा

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १० गते , सोमबार
राप्रपा कचनकवल गाउँ समितिको अध्यक्षमा पुनः रविचन्द्र ओझा

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कचनकवल गाउँ समितिको अधिवेशन सोमबार सम्पन्न भएको छ ।  कचनकवल ६ स्थित सामुदायिक भवन बनियानीमा आयोजित गाउँ अधिवेशनले राप्रपा गाउँ समितिको अध्यक्ष रविचन्द्र ओझालाई निर्विरोध चयन गरेका छन् । 
ओझाबाहेक अन्यले अध्यक्ष पदमा दावेदारी नदिएपछि पुनः ओझालाई पाँच वर्षीय कार्यकालका लागि पुनः अध्यक्षमा निर्विरोध चयन गरेका हुन । अध्यक्षमा ओझालाई चयन गरे पनि राप्रपा गाउँ समितिमा गाउँपालिकाको सातै वडाबाट सदस्यहरू चयन गरी समितिलाई थप विस्तार गरिने जनाइएको छ । 
समारोहका प्रमुख अतिथि राप्रपाका नेता राजेन्द्र लिङदेनले अधिवेशनको उद्घाटन गर्दै कचनकवलमा पार्टीलाई थप मजबुत र विस्तार गर्न नवनिर्वाचित अध्यक्षले महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेमा बताएका छन् । 
पार्टी एकतापछि अहिले राप्रपा जिल्लाभरि वडा, गाउँ तथा नगर समिति विस्तार अभियानमा लागि परेको बताउँदै उनले भने, ‘राजतन्त्रसहितको हिन्दु राष्ट्र पुनर्स्थापना हाम्रो मुख्य लक्ष्य र अभियान हो ।’ 
‘जनताको पक्षमा काम गर्न नसकेका कम्युनिस्ट र काँग्रेस संघियतासहितको संविधान रक्षाका लागि अहिले सडकमा दौडधुप गरिरहेको देख्दा आश्चर्य लागेर आउँछ,’ उनले भने, ‘हामीले पहिला नै भएका थियौ, संघियतासहितको धर्मनिरपेक्षता मुलुकले धान्न सक्दैन, अहिले मुलुक त्यसैको भुमरीमा फसेको छ, त्यसैले संघियतासहितको धर्मनिरपेक्षता खारेज हुनुपर्छ ।’ 
उनले कचनकवलका जनप्रतिनिधिलाई लक्षित गरी भने, ‘जनताको कामबाट पछि नहटनुहोस, आज हुने काम आजै गर्नुहोस्, भोलि भनेर कसैलाई दुःख दिने काम नगर्नुहोस्, जनताकै भोटबाट तपाईँहरू जित्नु भएको आफैले त्यसको आत्मसमिक्षा गर्नुहोला ।’ कार्यक्रममा राप्रपा पार्टीका केन्द्रीय सदस्य टेकनारायण राजवंशी, केन्द्रीय कार्य सम्पादन समितिका सदस्य देवुरमण भट्टराई, गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, उपाध्यक्ष निमसरि राजवंशी, जिल्ला सदस्यहरू सत्यनारायण यादव, धनवीर तामाङ, गाउँ समिति सदस्यहरू अम्बास आलम , फाल्गुनी राजवंशी लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २७ जना राप्रपामा प्रवेश गरेको जनाइएको छ । 

सम्बन्धित समाचार