२०८२ बैशाख ९ गते , मंगलबार

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, के होला अविश्वासको प्रस्ताव ?

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ९ गते , आईतबार
प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, के होला अविश्वासको प्रस्ताव ?

झापा । प्रदेश नम्बर एकको प्रदेश सभा बैठक आज बस्दैछ। सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका बैठक बोलाएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रमोद विकले जानकारी दिए। 

यसअघि गत माघ २५ गतेको बैठक सत्तापक्षकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो। आजको बैठक पनि नेकपा ओली समूहका सांसदले अवरोध गर्ने तयारी रहेको बुझिएको छ। 

गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई संसदीय दलबाट निलम्बन गरिएको निर्णय सभामुख भण्डारीले कार्यान्वयन नगरेसम्म संसद चल्न नदिने ओली समूहको अडान छ। 

ओली समूहका सांसदले पार्टी औपचारिक रुपमा विभाजित नभएसम्म बैठक चल्न नदिने अडान लिएका कारण आजको बैठक चल्ने संभावना पनि न्यून रहेको छ। यद्यपी बैठक चल्न सकेमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। 

यसअघिको बैठकमा यहि कार्यसूची तय भएर बैठक चल्न नसकेको कारण उक्त कार्यसूची आजका लागि सरेको हो। नेकपाको प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदहरूले मुख्यमन्त्री राईविरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। ती मध्ये केही सांसदले भने हस्ताक्षर फिर्ता लिएका छन्। 

नेकपाको केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेको भोलिपल्टै तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। थाहाखबरबाट

सम्बन्धित समाचार