२०८२ बैशाख १६ गते , मंगलबार

निर्वाचनको तयारीमा जुट्न राप्रपा कार्यकर्तालाई कमल थापाको आव्हान

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ८ गते , शनिबार
निर्वाचनको तयारीमा जुट्न राप्रपा कार्यकर्तालाई कमल थापाको आव्हान

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला गर्ने सम्भावना बढेर गएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा राप्रपा ५ नम्बर क्षेत्रीय समितिले राजसंस्था र हिन्दुराष्ट्रको स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्यको माग राख्दै शनिबार गौरीगञ्जमा आयोजना गरेको मोटरसाइकल र्यालीपश्चात् समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्।

थापाले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला पुनर्स्थापनाको पक्षमा नआउने र निर्वाचनमा जाने पक्षमा आउने सम्भावना बढेर गएकोले निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आव्हान गरेका छन्।  ‘राजसंस्था र हिन्दु राष्ट्रलाई समाप्त गरी प्रजातन्त्रको लागि कहिल्यै लड्नु नपर्ने बताउँदै आएका कम्युनिस्ट नेताहरू अहिले सडकमा दयनीय र निरीह अवस्थामा देखिन्छ,‘अध्यक्ष थापाले भने,‘नेकपा भित्रको झगडाका कारण प्रतिनिधिसभा विघटन गर्नु हुँदैन थियो, तर नेकपाले गणतन्त्रलाई गाईजात्रामा परिणत गरिदियो।’ 

नेपाली जनताले तिरेको कर र विदेशी ऋण लिएर सङ्घीयताको बोझलाई नेपाली जनताले धान्न नसकिने बताउँदै उनले भने,‘संवैधानिक राजासहित हिन्दु राष्ट्रको विकल्प छैन।

‘हामीले राजा आऊ देश बचाउ अब भन्ने होइन, हामीले जनता आऊ राजा ल्याऊ, जनता आऊ हिन्दु राष्ट्र ल्याऊ भन्ने हो।’ उनले भने राजाले मात्र देश बचाउने होइन अब राजा र जनता मिलेर देशलाई बचाउने हो।

२००७  सालमा राजा र जनता मिलेर नै देशमा प्रजातन्त्र ल्याएको उनले स्मरण गराए। मोटरसाइकल र्याली समापन सभामा राप्रपा नेता राजेन्द्र लिङदेन, पार्टीका केन्द्रीय सदस्य टेकनारायण राजवंशी, प्रदेश नम्बर १ का संयोजक राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्टलगायतले बोलेका थिए। 

सम्बन्धित समाचार