२०८३ बैशाख ३ गते , विहीबार

जयेन्द्रप्रसाद प्रसाईँ साहित्य कोषद्वारा पत्रकार खनालसहित तीन जना पुरस्कृत

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ८ गते , शनिबार
जयेन्द्रप्रसाद प्रसाईँ साहित्य कोषद्वारा पत्रकार खनालसहित तीन जना पुरस्कृत

झापा । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच एक पत्रकारसहित तीन जनालाई पुरस्कृत गरिएको छ । जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषद्वारा कोषकै सभा हलमा आयोजित एक कार्यक्रमका बिच २०७६ सालमा प्रकाशित कृतिमध्ये वर्षोत्कृष्ठ अश्वत्थामा कृतिका लेखक कुमार भट्टराई, विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवाबाट साहित्य तथा शिक्षा सेवी मोहन भण्डारी र धनमाया सक्रिय महिला सर्वोत्कृष्ट पत्रकारिताबाट अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका झापा सम्वाददाता राधा खनाललाई पुरस्कृत गरिएको थियो ।

पुरस्कृत तीन जनालाई कार्यक्रमका प्रमुख अतिथि कोमल प्रसाद पोखरेल, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईँ, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, केशवराज खनाल लगायतले दोसल्ला, सम्मान पत्रसहित नगद राशिद्वारा पुरस्कृत तथा सम्मान गरिएको थियो ।

पुरस्कृत तीन वटै पुरस्कारको राशि जनही २१ हजार १११ रुपैयाँ रहेको बताइएको छ । सम्मानित स्रष्टाको व्यक्तित्वबारे कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराई र रेजिना गौतमले प्रकाश पार्नुभएको थियो ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णुकुमार भट्टराईद्वारा लिखित चिन्तन, मनन र गन्थन, बाँच्ने खेलका हारजित र विनोद खनालद्वारा लिखित ‘तितो–मिठो हास्यव्यङ्ग्य कृति विमोचन गरिएको थियो ।

विष्णुकुमार भट्टराईद्वारा लिखित कृतिमाथि पुण्यप्रसाद खरेल र हरिप्रसाद भट्टराईले समीक्षा गर्नुभएको थियो भने विनोद खनालद्वारा लिखित पुस्तकबारे स्रष्टा आफैँले प्रकाश पार्नुभएको थियो ।

संस्थाका सचिव राजेन्द्र प्रसाईँद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि पोखरेल, डा। पुण्यप्रसाद सिग्देल, प्राज्ञ सभा सदस्य भट्टराई, प्रसाईँ ट्रस्टका पूर्व अध्यक्ष खगेन्द्र प्रसाईँ पुरस्कृत प्रतिभाहरू कृतिकार भट्टराई, मोहन भण्डारी, राधा खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा दधिराज खनाल र मिना अधिकारीले कविता वाचन गरेका थिए । 

सम्बन्धित समाचार