२०८३ बैशाख ३ गते , विहीबार

रेडक्रस सोसाइटी झापाको जिल्ला सभामा उत्कृष्ट सङ्घसंस्थालाई सम्मान

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ८ गते , शनिबार
रेडक्रस सोसाइटी झापाको जिल्ला सभामा उत्कृष्ट सङ्घसंस्थालाई सम्मान

भद्रपुर । मानवीय सेवामा समर्पित रेडक्रस अभियानमा रचनात्मक सहयोग पुर्‍याउने सङ्घ–संस्थालाई सम्मान र उत्कृष्ट रेडक्रस संस्थालाई पुरस्कृत गर्दै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ४७ औं जिल्ला सभा सम्पन्न गरेको छ । झापाको भद्रपुरस्थित संस्थाको सभा हलमा आयोजित समारोहका बिच शनिवार जिल्ला सभा सम्पन्न भएको हो । राष्ट्रिय रूपमै सधैँ अब्बल शाखाको रुपमा रहँदै आएको झापा शाखाका सभापति लोकराज ढकालको अध्यक्षतामा आयोजित साधारण सभाको प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा जिल्लामा एक वर्षभरिमा सबैभन्दा बढी रक्त सङ्कलन गर्ने संस्थालाई अवार्डसहित सम्मान गरिएको थियो भने वर्षभरि उत्कृष्ट काम गर्ने उपशाखाहरूलाई पुरस्कृत गरिएको थियो । यस वर्ष रक्तदान कार्यक्रम आयोजना गरी पहिलो हुन सफल रोटरी÷ट्र्याक्टर क्लब अफ भद्रपुर र भद्रपुर जेसीज, दोस्रो हुने सत्य साई केन्द्र १ नं प्रदेश र तेस्रो हुने नेपाली काँग्रेस झापा गाउँ समितिलाई प्रमुख अतिथि प्रजिअ तिमिल्सिनाले अवार्डसहित सम्मान गरेका थिए भने वर्षभरि काम गरेको मूल्याङ्कनका आधारमा समान अङ्क ल्याई प्रथम भएका भद्रपुर र लखनपुर उपशाखालाई जनही ५ हजार, दोस्रो हुने बुद्ध शान्ति र बाह्रदशी उपशाखालाई जनही ४ हजार तथा तेस्रो हुने शरणामती र बाहुनडाँगी उपशाखालाई ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

शाखाका मन्त्री चन्द्रप्रसाद चूडाल र उपमन्त्री विश्व थापाले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा शुभकामना मन्तव्य राख्दै प्रजिअ तिमिल्सिना, सोसाइटीका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा झापा शाखाका पूर्व सभापति भक्त खवासलगायतले मानवीय सेवामा झापा रेडक्रसले गरेका कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

मन्त्री चुडालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष हेम खड्काले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मनोज अग्रवालले लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा जिल्ला सदस्य ओमप्रकाश गौतमले स्वागत गरेका थिए । रेडक्रस झापाले कोभिड–१९ को महामारीको समयमा जिल्लाका विभिन्न स्थानका क्वारिन्टिनलगायत स्वास्थ्य संस्थाहरूलाई उल्लेख्य मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो भने कोभिडका कारण अप्ठ्यारोमा परेका विपन्न समुदायलाई राहत सामग्री उपलब्ध गराउनुका साथै जिल्लामा पीसीआर ल्याब स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सभापति लोकराज ढकालले बताए । 

सम्बन्धित समाचार