विराट–अर्जुन सहकारी संस्थामा १६५ जनाले दिए रगत
झापा। झापाको बिर्तामोड–४ मा रहेको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक सय ६५ जनाले रक्तदान गरेका थिए । झापामा भइरहेको रगतको अभाव टार्न संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रगतको अभावमा समस्यामा परेका बिरामीहरूको जीवन रक्षा गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा एक सय ६५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष नवीन खरेलले जानकारी दिए ।
रक्तदान सफल पार्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग तथा आदर्श ब्याङ्क्वेट बिर्तामोड र सुरुवाती कोठा नेपालको सहयोगमा भएको कार्यक्रममा दिनेश भट्टराईले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी रक्तदान गर्ने रक्तदाता प्रेम सागर कर्माचार्यले १६५ औं पटक रक्तदान गरेका थिए भने संस्थाका अध्यक्ष खरेलले ३० पटक रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष नवीन खरेलको अध्यक्षता तथा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष यादव ओलीले स्वागत गरेका थिए ।
कार्यक्रममा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १६५ औं पटक रक्तदान गरेको भन्दै रक्तदाता प्रेम सागर कर्माचार्यलाई सम्मान गरिएको थियो भने अन्य रक्तदाताहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य , नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजे सिवाकोटी, उपसचिव ओमप्रकाश लुइँटेल, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवाललगायतले झापामा भइरहेको रगतको अभाव टार्न विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
बिर्तामोडको मुक्तिचोकसिथत दुर्गा मन्दिर परिसरमा भएका रक्तदान कार्यक्रमबाटै झापाका विभिन्न हस्पिटलमा रहेका बिरामीका आफन्तले रगत लिएर गएको नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाका सचिव डिल्लीराम प्रसाईँले गरेका थिए ।