झापामा पुरुषलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई पुरुष त्यसै छाडिए

झापा । अदालतले म्याद थप गर्न नमानेपछि पुरुषमाथि अप्राकृतिक करणी गरेको आरोपमा पक्राउ परेका दुई जना रिहा भएका छन् । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि गत शनिवार बेलुका अप्राकृतिक करणी भएको थियो । घटनापछि पीडित पुरुष उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका थिए । करणीमा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई प्रहरीले सामान्य सोधपुछपछि छाडिदियो ।
जिल्ला प्रहरी कार्यालय, झापाका डिएसपी राकेश थापाका अनुसार पुरुषमाथि अप्राकृतिक करणी भएको सूचना आएपछि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय, बिर्तामोडबाट टोली गएको थियो । १८ वर्ष मुनिका बालक भए मात्रै अप्राकृतिक करणीमा कारबाही गर्न मिल्ने कानुनी व्यवस्था मुलुकी अपराध संहितामा छ । यो घटनामा पीडित पुरुष ३० वर्ष पुगेकाले मुद्दा नचलेको हो ।