'ओलीले संविधानको व्यवस्थालाई आगो लगाउने खतरा बढ्यो'
झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानले गरेको तमाम व्यवस्थालाई आगो लगाउने खतरा बढेको संकेत गरेका छन्।
प्रधानमन्त्री ओलीकै गृह जिल्लामा असंवैधानिक र अलोकतान्त्रिक प्रक्रियाबाट गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सदरमुकाम भद्रपुरमा सोमबार आयोजित बृहत् विरोध सभालाई सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘प्रधानमन्त्रीलाई सनक चढ्यो, लहर चल्यो, आफ्नो पार्टीभित्र झगडा चल्यो, संसद् विघटन गरिदिनुभयो, त्यसैले प्रधानमन्त्रीबाटै संविधानलाई बिस्तारै बिस्तारै आगो लगाउने खतरा बढ्यो।’
‘घरभित्रको झगडा र भागबन्डाको विषयमा बाहिर आएर पाखुरा सुइँकेर, तरबार उठाएर, आगो लगाउन पाइन्छरुु, नेता सिटौलाले भने, ‘प्रधानमन्त्रीले अहिले त्यस्तै गर्नुभयो, पार्टीभित्र कुरा नमिलेपछि आफ्नो रिस, झोक र आवेगलाई नेपाली जनताको निर्वाचित संस्था सांसदमाथि पोख्नुभयो, संसद् विघटन गर्नुभयो।’
नेपाली जनताले बगाएको रगत कम्युनिस्ट पार्टी, नेता र कार्यकर्ताको स्वार्थका लागि नभएको बताउँदै सिटौलाले भने, ‘संविधानमाथि गरेको अतिक्रमण प्रधानमन्त्री आफैंले फिर्ता लिए देश र जनताको पक्षमा हुन्छ, त्यसलाई काँग्रेसले पनि स्वागत गर्छ।’
उनले भने, ‘कांग्रेसको तर्फबाट खुला दिलबाट भन्न चाहन्छु, प्रधानमन्त्रीज्यु तपाईं मति सुर्धानुहोस्, दिल सुर्धानुहोस्, तपाईंको मन सुद्धीकरण गर्नुहोस्, तपाईंको सानो दिल भएको स्वार्थको घेराबन्दीमा काम गरेर देश बन्दैन, भाषणले संवैधानिक निकायहरू स्वच्छ र निष्पक्ष रुपमा काम गर्न सक्दैन।’
‘प्रधानमन्त्रीज्यू, तपाईंले अहिलेसम्म गरेका कमीकमजोरीलाई आत्मालोचना गर्नुहोस्, आफैंसँग संवाद गर्नुहोस्, तपाई अरूलाई ढाँट्न सक्नुहुन्छ, तर आफ्नो आत्मलाई कहिल्यै ढाट्न सक्नुहुन्न,ु उनले भने।
लोकतान्त्रिक संविधानबाट बनेको सर्वोच्च अदालतको फैसला जनताको पक्षमा आउने विश्वास व्यक्त गर्दै उनले भने, ‘संसद् पुनर्स्थापना भएन भने २०४७ सालको संविधानजस्तै वर्तमान संविधान पनि रहँदै र देशमा ठूलो संकटमा फस्छ।’
निर्मला र भागरथीको हत्यारालाई पानी मुनिबाट निकालेर भए पनि अपराधी पक्राउ गर्छु भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणले जनताको चित्त नबुझ्ने बताउँदै उनले भने, ‘निर्मला र भागरथीजस्ता धेरै घटना छन्, जुन दबेर बसेका छन्, उठेका छैनन्। त्यसतर्फ सरकारको ध्यान गएको छैन।’
कांग्रेसका जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा भएको विरोध सभा कांग्रेसका केन्द्रीय सदस्य सुधीरकुमार सिवाकोटी, भारतेन्दुकुमार मल्लिक, जिल्ला सदस्य दिलीप राईलगायतले प्रधानमन्त्रीको संसद् विघटनको कदम नेपाली जनताको लागि दुर्भाग्यपूर्ण भएको बताए। स्वागत मन्तव्य क्षेत्रीय सभापति गणेश पोखरेलले राखेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव प्रेम सम्वाम्फेले गरेका थिए । विरोध सभा जिल्ला सबै निर्वाचन क्षेत्रबाट सयौँ कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।