प्रधानमन्त्री ओलीले तीनवर्षे कार्यकालको उपलब्धी आज सार्वजनिक गर्दै

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन्।
२०७२ सालको भूकम्पले क्षति पुर्याएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी मोहडाको प्रबलीकरण र आन्तरिक सजावटसमेत सम्पन्न गरी उद्घाटन गर्न लागिएको हो।
पश्चिमी मोहडाको प्रबलीकरणको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भुकम्पबाट सुरक्षितरूपमा पुनःनिर्माण गरिएको बताएका छन्। उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेत आजै सार्ने तयारी गरिएको छ। भूकम्पले भवन क्षतिग्रस्त भएपछि प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरमै रहेको तत्कालीन स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो।
यसैबीच, प्रधानमन्त्री ओलीले आफ्नो सरकारको तीन वर्षे उपलब्धी आज सार्वजनिक गर्दै छन्। प्रतिनिधिसभा चुनाव सम्पन्न भएपछि २०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त ओलीको कार्यकाल आज तीन वर्ष पुगेको छ। सिंहदरबारमै विहान ११ बजे प्रेस ब्रिफिङ मार्फत् तीन वर्षका प्रमुख उपलब्धीहरु सार्वजनिक गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सरकार पाँच वर्षका लागि गठन भए पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन घोषणा गरेका छन्। थाहाखबरबाट