२०८३ बैशाख ३ गते , विहीबार
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
धादिङ । धुनीबेंसी नगरपालिका खानीखोलामा बिहीबार दिउँसो ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र३-०२-००९-प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना१क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएको दुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा सुरेश अधिकारीको मृत्यु भएको हो।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको तथा मोटरसाइकल चालक डा अधिकारी र उनका बाबु घाइते भएका थिए। घाइतेको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। सवारीसाधन उछिन्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। रासस