वीरता जेसीजद्वारा ह्विलचियर वितरण
बिर्तामोड । वीरता जेसीजले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनलाई ह्विलचियर प्रदान गरेको छ । वीरता जेसीजका पूर्व अध्यक्ष सजेश सिवाकोटीले आफूलाई वीरता जेसीजले प्रदान गरेको दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कारको रकमले ह्विलचियर खरिद गरी उक्त संस्थालाई प्रदान गरेका हुन् ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको आस्था अनुसार आफूले पुरस्कारको रुपमा पाएको रकमले ह्विलचियर खरिद गरी प्रदान गरेको पूर्व अध्यक्ष सिवाकोटीले बताए ।
वीरता जेसीजका पूर्व अध्यक्ष सिवाकोटी , अध्यक्ष राजीव धिमाल, निवर्तमान अध्यक्ष मिजास पोखरेल , अन्तर शाखा समन्वय संयोजक जीवन खड्कालगायतले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेणु वंशल, सेक्रेटरी सम्झना भण्डारीलाई उक्त ह्विलचियर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वीरता जेसीजका २०७५ का उत्कृष्ट नागरिक पूर्णप्रसाद चुँडाल, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका क्लब सर्भिस कोअर्डिनेटर सुजित वंशलगायतको सहभागिता रहेको वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठले जानकारी दिए ।
यसैबिच इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले बौद्धिक अपाङ्गता भएकी पूर्णिमा गुरुङलाई ह्विलचियर प्रदान गरेको छ ।
वीरता जेसीजका पूर्व अध्यक्ष सजेश सिवाकोटीले प्रदान गरेको ह्विलचियर इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले बौद्धिक अपाङ्गता भएकी गुरुङलाई हस्तान्तरण गरेको हो ।
कनकाई –१ जामुनवारीस्थित सुस्त मनस्थिति सरोकार समाज नेपालको बालआवास गृहमा रहेकी बौद्धिक अपाङ्गता भएकी गुरुङलाई इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेणु बंशल, एडीडर जुनु विमली उप्रेती , बोर्ड मेम्बर लुना बस्नेत ,रेणु गोयल, वर्षा राजभण्डारीलगायतले ह्विलचियर प्रदान गरेका थिए ।
ह्वीलचेयरको अभावमा कष्टपूर्ण जीवन गुजार्दै आएकी गुरुङको अवस्थालाई मध्यनजर गर्दै ह्विलचियर प्रदान गरिएको इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट बंशलले बताइन् ।
नेपाल उद्यमशील महिला सङ्घकी अध्यक्ष पार्वता खरेल विमलीको आतिथ्यमा भएको कार्यक्रममा सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष भागिरथा चापागाईँ पोखरेलले बौद्धिक अपाङ्गता भएकी गुरुङलाई ह्विलचियर प्रदान गरेर इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले ठुलो गुन लगाएको बताइन् ।