साहित्यकार ढुङ्गेलको उपन्यास ‘प्रेमकुण्ड’ विमोचन
बिर्तामोड । बिर्तामोडमा आयोजित कार्यक्रममा साहित्यकार, गीतकार तथा मोडल भगवती ढुङ्गेलको उपन्यास ‘प्रेमकुण्ड’ विमोचन गरिएको छ । लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडकी अध्यक्ष लीला मैनालीको अध्यक्षता तथा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी प्रथम उपाध्यक्ष पार्वता गिरीले स्वागत गरेकी थिइन् ।
लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, साहित्यकारहरू कोमल प्रसाद पोखरेल, हेम अधिकारी साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठ, संस्थापक अध्यक्ष शिव शंकर थापा, सल्लाहकार राजेन्द्र सङ्ग्रौला, बिर्तामोड–२का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौला , लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वान एलसीआईएफ डिस्ट्रिक्ट कोओर्डिनेटर लीला चिमरिया , प्राध्यापक लक्ष्मी पौडेल लगायतले कृतिको विमोचन गरेका थिए ।
प्राध्यापक लक्ष्मी पौडेलले उपन्यास ‘प्रेमकुण्ड’को समीक्षा गर्दै प्रेमिल मनहरूका लागी उपन्यास उपयोगी भएको बताइन् । त्यस्तै साहित्यकार ढुङ्गेलले आफ्नो चौथो कृतिका रुपमा उपन्यास ‘प्रेमकुण्ड’ विमोचन गरिएको बताउँदै ‘प्रेमकुण्ड’ नितान्त प्रेमकथामा आधारित उपन्यास भएको बताइन् ।
कार्यक्रममा प्राज्ञ सभा सदस्य भट्टराईले साहित्यकार ढुङ्गेलले साहित्यिक कृति प्रकाशन गरेर साहित्यको क्षेत्रमा एउटा इँटा थपेको बताइन् । त्यस्तै लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वान एलसीआईएफ डिस्ट्रिक्ट कोओर्डिनेटर लीला चिमरिया , बिर्तामोड–२का वडाध्यक्ष नगेन्द्र संग्रौलालगायतले साहित्यकार भगवती ढुङ्गेल सशक्त नारी हस्ताक्षरको रुपमा साहित्यिक आकाशमा उदाएको भन्दै साहित्यकार ढुङ्गेलको प्रशंसा गरेका थिए । कार्यक्रममा साहित्यकार पर्शुराम तिम्सिनालाई सम्मान गरिएको थियो भने लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडले साहित्यकार ढुङ्गेललाई सम्मान गरेको थियो ।
कार्यक्रममा सरगम संगीतालयका कलाकारहरूले साहित्यकार ढुङ्गेलद्वारा रचित गीत प्रस्तुत गरेका थिए । बिर्तामोड–१ निवासी ढुङ्गेलका उपन्यासहरू ‘आधा सत्य’ ‘प्रेमिल’ ‘प्रेमकुण्ड’ कविता तथा मुक्तक सङ्ग्रह देश र आमा र ‘मधुशाला बन्यो’ र ‘हाँसौँ कसरी’ ‘न पिउँछ’बोलको गीत र म्युजिक भिडियो समेत सार्वजनिक भइसकेका छन् ।
सोही कार्यक्रममा उपन्यासका प्रकाशक तथा कलाकार जनक खड्काको जन्मोत्सव समेत मनाइएको थियो । कार्यक्रममा साहित्यकार ढुङ्गेलले उपन्यासका प्रकाशक तथा कलाकार जनक खड्कालाई जन्मदिनको शुभकामनासहित युनियन लाइफ इन्स्योरेन्सको ५० लाखको बिमा उपहारस्वरूप प्रदान गरेकी थिइन् । मोडल जनक खड्काले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडकी सहसचिव सङ्गीता गिरीले गरेकी थिइन् ।