धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार राधा खनाललाई
झापा । जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार यस वर्ष राधा खनाललाई प्रदान गरिने भएको छ ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षतामा सम्पन्न संस्थाको कार्यसमितिको बैठकले पुरस्कार प्रदानका लागि छनौट समितिले गरेको सिफारिसलाई सर्वसम्मत अनुमोदन गरेको सचिव राजेन्द्र प्रसाईँले जानकारी दिए। यसअघि लोकराज ढकाल संयोजकत्वमा रेजिना गौतम र यज्ञप्रसाद पाठक सदस्य रहेको छनौट समितिले पुरस्कारका लागि प्रतिभा छनौट गरेको थियो । खनाल झापामा रहेर काठमाडौँबाट प्रकाशित हुने अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ । तीन वटै विधाको समान २१ २१ हजार नगद पुरस्कार पुरस्कार राशिसहित सम्मान पत्र रहेको छ ।
संस्थाले प्रत्येक वर्ष वितरण गर्दै आएको सर्वोत्कृष्ट कृति पुरस्कारका लागि झापाली स्रष्टा कुमार भट्टराईद्वारा लिखित ‘अश्वत्थामा’ र विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सेवा सम्मान दमकका मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिसकेको छ । पुरस्कार आगामी फागुन ८ गते संस्थाको बिर्तामोडस्थित आफ्नै सभा हलमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिने भएको अध्यक्ष प्रसाईँले जानकारी दिए ।