बिर्तामोडमा आगो निभाउन गएका दमकलका दुई फायरमेन घाइते
झापा । आगो निभाउने क्रममा बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित दमकलका दुई फायरमेन घाइते भएका छन् । बिर्तामोड–७ मा गए राति आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि गएको वारुणयन्त्रमा कार्यरत २ जना कर्मचारी घाइते भएका हुन् । घाइते हुनेहरूमा बिर्तामोड ६ घर भएका सञ्जीव मेचे र गणेश बास्की रहेका छन् । बिर्तामोड–७ का हरि पाण्डेको परालको कुन्यूमा राति ८ बजेतिर आगलागी भएको हो । आगलागी नियन्त्रणको लागि बिर्तामोड नगरपालिकाको दमकल गएको थियो ।
दमकलले आगो निभाउँदै गर्दा जेसिबीले पराल पल्टाउने हुँदा आगोको मुस्लो ती फायर मेनमाथि परेको थियो । आगलागीमा परी मेचेको अनुहार डढेको छ । उनलाई बचाउन जाँदा बास्कीको पनि हात डढेको वारुणयन्त्र कार्यालयका नवीन मेचेले बताए ।दुवैलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएको थियो । सामान्य घाइते बास्की उपचारपछि फर्किएका छन् भने मेचेको उपचार भइरहेको छ ।हिजो बिर्तामोडको तीन ठाउँमा आगलागी भएको थियो । बिर्तामोड ३ र १० मा पनि परालको कुन्यूमा नै आगलागी भएको हो ।