२०८३ बैशाख ३ गते , विहीबार

अनलाइनमा चिट्ठा परेको भन्दै लाखौँ ठग्ने एकजना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ माघ २६ गते , सोमबार
अनलाइनमा चिट्ठा परेको भन्दै लाखौँ ठग्ने एकजना पक्राउ

झापा । अनलाइनबाट चिट्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै लाखौँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ९ स्थायी ठेगाना भएका २९ वर्षीय पङ्कज पौडेली विक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।  उनले विभिन्न व्यक्तिलाई विभिन्न बैकहरूको खाता नम्बरमा पैसा हाल्न लगाएर लाखौँ ठगी गरेका छन् ।  उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ स्थित चारपानेबाट पक्राउ गरेको हो । पीडितहरूले दिएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखामा ठगी मुद्दा दर्ता भएपछि महानगरीय अपराध महाशाखाको सूचनाको आधारमा झापा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई खानतलासी गर्दा लाखौँ नगद र अन्य सरसामान समेत फेला परेको छ ।

उनको झोलाबाट नगद तीन लाख ५६ हजार ७ सय १० रुपैयाँ, कोठाको दराजभित्रबाट दुई लाख ८ हजार २ सय नगद , घर पछाडिको ग्वालीमा गोवरको थुप्रोभित्र राखिएको कालो रङ्गको लेडिज झोलाभित्र नगद आठ लाख ३० हजार ३ सय ५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि तालुक महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँ पठाइसकेको  प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार