गौरीगञ्जमा ब्राउन सुगरसहित चारजना पक्राउ
झापा । जिल्लाको गौरीगञ्जमा लागु औषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा चेक जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । माघ २२ गते दिउँसो ४ बजे गौरीगञ्ज ३ पानीट्यांकीबाट गौरादह नगरपालिका २ बस्ने २५वर्षीय मन्दिस अधिकारी ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनको साथबाट ५५० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
त्यस्तै माघ २३ गते राति ९ बजे गौरीगञ्ज ३ बाट मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं १ बस्ने २८ वर्षीय मुकेश बर्देवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनीसँग २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । त्यसैगरी माघ २४ गते राति ९ बजे गौरीगंज ३ स्थित चोकबाट मोरङ पथरी शनिश्चरे वडा नं। १ बस्ने २७ वर्षीय दिलीप कार्की र सोही नगरपालिका वडा नं। २ बस्ने २४ वर्षीय सुजन लिम्बूलाई १ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।