झापासहित चार जिल्ला हेर्ने आयोजनामा दरबन्दीअनुसार कर्मचारी नहुँदा कामकाज नै प्रभावित
(पार्थ मण्डल) भद्रपुर । तोकिएको दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा सघन शहरी तथा भवन निर्माण आयोजना झापाको कामकाज प्रभावित बनेको छ।
शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत झापामा एक आयोजना प्रमुख, दुई जना इन्जिनियर र एक जना सब इन्जिनियर कार्यरत छन्। दरबन्दीअनुसार तीन जना सब–इन्जिनियर र चार जना इन्जिनियर हुनुपर्ने आयोजना झापा प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए। झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी चार वटा जिल्लामा एक सय बढी योजना सञ्चालनमा छ।
‘दुई जना इन्जिनियर र एक जना सब इन्जिनियर लिएर कता कताको काम हेर्नू, कि अनुगमन गर्नू समस्या भइरहेको छ,’ आयोजना प्रमुख खतिवडाले भने। त्यसमा पनि एक जना इन्जिनियर दमकमा बनिरहेको भ्यु टावर निर्माणमा खटाएका छौँ, एक जना इन्जिनियर र सब इन्जिनियरलाई आवश्यक परेको ठाउँका खटाइरहेका छौँ, अनि समस्यासँगै अनुगमनमा आफू दिनरात खटिरहेका छौँ,' खतिवडाले भने। आयोजना कार्यालय रहेको सदरमुकाम भद्रपुरमै सञ्चालित दुई अर्बको नालासहितको सडक विस्तारको काममा इन्जिनियर खटाउनै समस्या भइरहेको उनले बताए।
‘विभागले कम्तीमा दरबन्दी अनुसारको इन्जिनियर पठाइदिनुपर्यो वा मलाई यहाँबाट सरुवा गरिदिनुपर्यो, कर्मचारीबिनै कसरी काम गर्न सकिन्छरु,ु उनले थपे।ताप्लेजुङ र पाँचथरमा सञ्चालित योजनाको कामहरू हेर्न इन्जिनियर पठाए पनि त्यहाँ गएर फर्किँदा उनीहरूलाई दुई चार दिन त्यसै लागि हाल्ने उनले बताए।
‘विभागसँग सरुवाको माग राखेपछि दुई जना इन्जिनियर पठाइदिने आश्वासन दिएको छ, तर कहिले पठाउने हो त्यसको भने टुङ्गो लागिसकेको छैन,' उनले भने।
२०७६ साल पुस १८ गतेदेखि आयोजनाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका खतिवडाले चार जिल्लामा अलपत्र छाडिएका १५ वटा योजनाको कामहरूलाई गति दिएको छ। त्यसमा केही योजनाको सम्पन्न भइसकेको छ भने केही योजनाको काम तीव्र गतिमा भइरहेको उनले बताए।
भवन, सडक, पुल लगायत योजनाका काममाथि पटक पटक गुणस्तरकै प्रश्न उठ्ने गरेकाले दुई जना ल्याब टेक्निसियनलाई दैनिक ज्यालादारीमा नियुक्ति गरेको उनको भनाइ छ। ल्याब टेक्निसियन नियुक्त गरेपछि पहिलाभन्दा काममा धेरै सुधार आउन थालेको उनले बताए।