२०८१ मंसीर ३० गते , आईतबार
संसद् पुनर्स्थापनको माग गर्दै अनेमसंघ झापाले बुझाए ज्ञापनपत्र
झापा । गत पुस ५ गते प्रधानमन्त्रीले गरेको संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदम भएको ठहर गर्दै नेकपाको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) झापाले संसद् पुनर्स्थापन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीको कदम सच्याउन माग गर्दै अनेमसंघ झापाले ज्ञापनपत्र पठाएको छ ।
अनेमसंघ जिल्ला सङ्घर्ष समिति झापाको नेतृत्वमा अनेमसंघका केन्द्रीय तथा जिल्ला तहका नेतृहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरेको केन्द्रीय सदस्य पवित्रा निरौला खरेलले जानकारी दिइन् ।