पूर्वराजा ज्ञानेन्द्रभन्दा ओली डरलाग्दो तानाशाह : घनश्याम भुसाल
भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही पूर्वराजा ज्ञानेन्द्रको भन्दा पनि डरलाग्दो भएको दावी गरेका छन्।
विभाजित नेकपाको प्रचण्ड–नेपाल समूह संघर्ष समिति बिर्तामोडले शनिवार आयोजना गरेको कार्यकर्ता भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै भुसालले असंवैधानिक संसद् विघटनले मुलुक डरलाग्दो भुमरीमा फसिसकेको दाबी गरे।
'प्रधानमन्त्रीको ठुलो हतियार नै संसद् हो, उहाँले संसद् विघटन गरेर त्यसको हत्या गरिसक्नुभयो, त्यसपछिको हतियार पार्टी हो, त्यो पनि उहाँले विभाजित बनाइसक्नुभयो, अब उहाँ गुन्डा र मण्डले शक्तिको पछाडि लागेकाले अन्ततः हातमा केही पनि रहँदैन, त्यसपछि मुलुक डरलाग्दो भुमरीमा फस्ने निश्चित छ,' भुसालले भने, ‘कदाचित् सर्वोच्च अदालतले संसद् विघटनलाई सदर गरिदियो भने ओलीले राष्ट्रपतिसहित सबै संवैधानिक निकाय आफ्नो कब्जा लिन्छन्, मुलुक एउटा विद्रोहमा जान्छ, त्यसलाई कसैले चाहेर पनि रोक्न सक्दैन।'
ओलीले सेटिङ मिलाएर संसद् विघटन गरेकाले वैशाखमा कुनै हालतमा निर्वाचन नहुने भुसालले ठोकुवा गरे। भने, ‘त्यतिञ्जेलसम्म अदालत खाइसक्ने ओलीले निर्वाचन सार्ने बहानामा बाँकी रहने निर्वाचन आयोग र प्रहरी प्रशासन आफ्नो आदेशमा चलाउँछन् र त्यो पूर्वराजा ज्ञानेन्द्र शाह भन्दापनि डरलाग्दो नयाँ तानाशाहको उदय हुन्छ।’
तर, त्यस्तो तानाशाह धेरै दिन नटिक्ने हुनाले ओली शासनको पतन निश्चित भएको भुसालले तर्क गरे। सर्वोच्च अदालतले संविधानलाई टेकेर संसद् पुनःस्थापनाको पक्षमा निर्णय गर्ने विश्वास गर्दै उनले भने, ‘लोकतन्त्र र गणतन्त्रसहितको संविधान रक्षा निम्ति हामी जस्तोसुकै गर्न तयार छौँ।’