२०८१ चैत्र १४ गते , विहीबार

प्रधानमन्त्रीको जिल्लाबाट झलनाथ खनालले भने, 'तानाशाही सरकारले सडकमा जुलुस निकालेर डंका पिट्यो' 

sajilo news
पार्थ मण्डल
२०७७ माघ २३ गते , शुक्रबार
प्रधानमन्त्रीको जिल्लाबाट झलनाथ खनालले भने, 'तानाशाही सरकारले सडकमा जुलुस निकालेर डंका पिट्यो' 

झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले तानाशाही सरकारले सडकमा जुलुस निकालेर डंका पिट्ने काम गरिरहेको आरोप लगाएका छन्।  प्रेस संगठन झापाले बिर्तामोडमा शुक्रबार दिउँसो गरेको पत्रकार भेटघाटमा खनालले सरकार तानाशाही भएको पनि प्रतिक्रिया दिए।

पूर्वप्रधानमन्त्री समेत खनालले भने, ‘२०४६ सालपछि कुनै पनि सरकारले यसरी सडकमा जुलुस निकालेको इतिहास छैन, तर ओली नेतृत्वको सरकारले सडकमा जुलुस निकालेर हामी नै लोकप्रिय छौँ, लोकतान्त्रिक छौँ र संवैधानिक छौ भन्दै डंका पिटिरहेको हेर्दा आश्चर्य लागेर आउँछ।’ 

‘ओलीले नेकपा पार्टीको कार्य दिशा र सिद्धान्तका आधारमा चल्न नसक्नु, दक्षिणपन्थी अवसरवादी भड्काउ लागु गर्न थाल्नु, पार्टीका नीति, विधि, प्रक्रिया, पद्धतिका कुनै पनि कुराहरू नमान्नु र केन्द्रीय कमिटी, स्थानीय कमिटी र सचिवालयका निर्णयहरू समेत अस्वीकार  गरेर जबरजस्ती मुलुकमा शासन चलाउनु खोज्नु नै प्रतिगमनको मुख्य कारण हो, त्यसै उहाँले संसद् विघटन गरेर प्रतिगमन गर्नुभयो,’ नेता खनालले भने। 

एमसिसीबारे नेता खनालले भने, ‘देशमा एमसिसी लागु गर्ने विषयमा जुन सम्झौता अमेरिकासँग भएको छ, त्यस सम्झौताको बारेमा हाम्रा केही विषय विष्टताहरु छन्, अमेरिका सरकारसँग छलफल गरेर एमसिसी परिमार्जन र परिष्कृत गरेर लागु गर्नुपर्छ भन्ने पार्टीको अडान छ, त्यो अडानलाई ओलीले अस्वीकार गरेको पक्कै हो, तर प्रतिगमनको मुख्य कारण यसलाई मान्न सकिन्न।’

सर्वोच्च अदालत कुनै हुकुमी शासकले बनाएको अदालत नभएको पनि उनले बताए।  'राजा, महाराजा, सेटिङफेटिङले बनाएको अदालत होइन, उनले भने, ‘०६२ ६३को जनक्रान्तिमार्फत निर्माण गरिएको संविधानबमोजिम बनेको अदालत हो, त्यसो हुनाले यो अदालतले लोकतन्त्रको रक्षा गर्दै संसद् पुनर्स्थापना गरेर नेपाली जनतालाई न्याय दिन्छ भन्नेमा हामीलाई पूर्ण विश्वास छ।’

लोकतन्त्र र संविधानका पक्षधर, सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण नागरिक समाज एकताबद्ध भएर संविधानको रक्षा र प्रतिगमनविरुद्ध एकजुट हुन उनले आह्वानसमेत गरेका छन्। कार्यक्रममा पूर्व गृहमन्त्री तथा स्थायी कमिटीका सदस्य जनार्दन शर्माको समेत उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए।

सम्बन्धित समाचार