२०८१ माघ २ गते , बुधबार

भद्रपुर भन्सार आउने लत्ताकपडा कहाँ गयो ? सशस्त्रद्वारा एक लाख ४८ हजार मूल्य बराबरको कपडा बरामद

sajilo news
पार्थ मण्डल
२०७७ माघ २३ गते , शुक्रबार
भद्रपुर भन्सार आउने लत्ताकपडा कहाँ गयो  ? सशस्त्रद्वारा एक लाख ४८ हजार मूल्य बराबरको कपडा बरामद

भद्रपुर ।  कारोबारी र व्यापारीले भद्रपुर भन्सार कार्यालयमा भित्राउने लत्ताकपडाको परिणाम घटाएका छन् । भन्सार कार्यालयभित्रै हुने गरेको मिलेमतोको परिकाष्ट बाहिरिएपछि विभागले भन्सार प्रमुखसहित कर्मचारीको सरुवा गरेका थिए । नयाँ कार्यालय प्रमुखसहित कर्मचारीको टोलीले जिम्मेवारी सम्हालेदेखि नै थप कडाइ गरेपछि अहिले कारोबारी र व्यापारी पहिलाको तुलनामा भन्सार कम जान थालेका छन् ।

उनीहरू लत्ताकपडा भन्सार ल्याउन भन्दा पनि चोरी निकासीबाट कसरी भित्राउन सकिन्छ भन्नेमा दौडधुप गरिरहेका छन् । कतै प्रहरीको सेटिङमा, कतै प्रहरीकै आँखा छलेर उनीहरू भन्सार छलेर सरसामान भित्राउन लागि परेका छन् । यसै क्रममा भद्रपुर नाकबाट भन्सार छलेर भित्राउन लागेका एक लाख ४८ हजार मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले जानकारी दिए ।

शुक्रवार बिहान १ बजे भद्रपुर ५ स्थित मेची पुल तलबाट बोरामा हालेर ल्याएका सो मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरबाट खटिएका टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरीलाई देखेपछि सामान छाडेर तस्करहरू भागेका थिए । बरामद गरिएका सामानमा ३२५ पिस म्याक्सी, ६५ पिस कुर्ता सुरुवाल, ९६ पिस सन्डो गन्जी, ५० पिस लेगिज, १०८ पिस पेन्टी र ३२ पिस कुर्ती रहेको जनाइएको छ ।

बरामद गरिएको सामानलाई शुक्रवार भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । यसअघि पनि सोही नाकाबाट भित्राइएको ठुलो परिणामको जुत्ता चप्पल सशस्त्र प्रहरीले बरामद गरेको थियो । मेची पुल तलबाट रातको समयमा सरसामान भित्राउन अहिले तस्करी समूह योजना बनाएर लागि परेको व्यापारी स्रोतको दाबी छ । 

सम्बन्धित समाचार