२०८३ बैशाख ३ गते , विहीबार

आज प्रचण्ड–नेपाल समूहको आम हड्ताल, अवज्ञा गर्न सरकारको अपिल

sajilo news
पार्थ मण्डल
२०७७ माघ २२ गते , विहीबार
आज  प्रचण्ड–नेपाल समूहको आम हड्ताल, अवज्ञा गर्न सरकारको अपिल

काठमाडौं । संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ती गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधमा आज देशव्यापी आम हड्तालको घोषणा गरेको छ ।   केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरेर प्रचण्ड नेपाल समूहले यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द गर्ने घोषणा गरेको हो। 

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न आमहड्ताल गर्नुपरेको दाबी गरे।  प्रतिनिधि सभा विघटनको विरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आकस्मिक रुपमा आम हड्ताल घोषणा गरेको हो। नेकपाको  केपी शर्मा ओली समूहले शुक्रबार काठमाडौंमा सभा गर्दै छ। तर त्यो सभालाई लक्षित गरेर नभई एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको विरोधमा हड्ताल गरेको श्रेष्ठको दाबी छ। 

अवज्ञा गरौं : सरकार

सरकारले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।  

संवैधानिक निकायमा संसदीय सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले आम हड्तालको घोषणा गरेपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने जानकारी गराएको हो। 

दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववर्ती रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न गृहमन्त्रालयले आग्रह गरेको हो। 


आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्‍चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्ने गृहको चेतावनी दिएको छ।

सम्बन्धित समाचार