२०८३ बैशाख ३ गते , विहीबार

झापा आएर राजेन्द्र महतो भने, 'प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन स्थायी समाधान होइन'

sajilo news
पार्थ मण्डल
२०७७ माघ २० गते , मंगलबार
झापा आएर राजेन्द्र महतो भने, 'प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन स्थायी समाधान होइन'

भद्रपुर । जनता समाजवादी पार्टी नेपाल (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन अहिले मुलुकका लागि स्थायी समाधान नभएको बताएका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा जनता समाजवादी पार्टी नगर कमिटीले मङ्गलवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जसपा नेता महतोले भने, ‘देशको राजनीतिक परिस्थितिलाई नियाल्दा प्रतिनिधिसभा पुर्नःथापना गरेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतलाई प्रधानमन्त्री बनाएपछि भोलिका दिनमा पनि प्रतिनिधिसभा विघटन हुँदैन भन्ने केही ग्यारेन्टी छ रु’ त्यसैले अहिलेको स्थानीय समाधान प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन दुवै नभएको उनको धारणा छ ।

‘विगतका राजा महाराजा र काँग्रेसका नेताहरूले पनि संविधानलाई कुल्चिएर प्रतिगमनकारी कदम चालेका थिए,’ पूर्व मन्त्री समेत रहेका महतोले भने, ‘जनताबाट निर्वाचित अहिलेका बहुमतका नयाँ राजा केपी शर्मा ओलीले पनि संविधान कुल्चियो, त्यसैले अब दिगो निकासका लागि संविधान संशोधन हुनै पर्छ ।’ पहिचानवादी र आन्दोलनकारीहरू राष्ट्रिय मुक्तिको लागि एक भएर लड्नु पर्ने बताउँदै नेता महतोले भने, ‘सबैको अपन्तो महसुस हुने गरी संविधान संशोधन नभए सम्म प्रतिगमन भई रहन्छ ।’ 
संविधानलाई 'कु' गरेर लोकतन्त्र माथि नै प्रहार गरिएको छ, त्यसैले प्राप्त उपलब्धि गुम्न नदिन शान्तिपूर्ण आन्दोलनमा लाग्न उनले जसपाका कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । पार्टीका नगर कमिटी अध्यक्ष भेषराज भट्टराई र चन्द्र राजवंशीको आतिथ्यमा कार्यक्रममा सम्पन्न भएको थियो । 

सम्बन्धित समाचार