भद्रपुर नाकामा सशस्त्रको बिओपी स्थापना
(पार्थ मण्डल) भद्रपुर । झापाको भद्रपुर नाकालाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट स्थापना गरिएको छ । विगत लामो समयदेखि प्रयोगविहीन बनेको भद्रपुर ५ स्थित मेची किनारमा रहेको सार्वजनिक मलामी विश्राम भवनलाई सशस्त्र प्रहरीले सदुपयोग गर्दै त्यही भवनमा बिओपी स्थापना गरेको हो ।
सो अस्थायी बिओपीको आइतबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका डिआइजी वंशीराज दाहाल र झापाका प्रमुख जिल्ला अधिकारीले उद्घाटन गरेका हुन । पाठामारी, ज्यामिरगढी र भद्रपुर गरी झापामा यसबर्ष तीन वटा नयाँ बिओपी स्थापना भइसकेको डिआइजी दाहालले बताए । उनका अनुसार हाल देशभर ११४ वटा बिओपी रहेको छ । सरकारको सीमा सुरक्षा योजना बमोजिम यस आर्थिक वर्षमा थप ११४ वटा बिओपी स्थापना गरी २२१ वटा पुर्याउने लक्ष्य रहेको बताए ।
भद्रपुरसहित देशभर हालसम्म २०० वटा बिओपी स्थापना भइसकेकोमा बताउँदै डिआइजी दाहालले भने, ‘प्रदेश नम्बर एकमा ५० वटा बिओपी पुर्याउने लक्ष्य छ ।’ हाल सम्म प्रदेश एकमा ४२ वटा बिओपी स्थापना भइसकेको छ, भने ८ वटा बिओपी स्थापना गर्ने क्रममा रहेको उनले बताए । बाँकी सबै बिओपी झापामा स्थापना गरिने उनको भनाई छ । त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले १४४ दशमलव २ किलोमिटर जिल्लाको खुल्ला सीमाबाट हुने आपराधिक क्रियाकलाप, अतिक्रमण, चोरी निकासी जस्ता कार्य रोक्न स्थापना गरिएको बिओपीले सीमा सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यस्तै जिल्लामा सशस्त्र प्रहरीले बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर, केचना, घेरावारि, भागडुब्बा, कुञ्जीवारि, गौरीगञ्ज, टाघनडुब्बा, पाठामारी, ज्यामिरगढी र भद्रपुरमा बिओपी स्थापना गरिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । तिरिङ, नकलबन्दा, सतीघट्टा, महेशपुर, पन्थ पाडा र गौरदाहको आँपगाछीमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको उनले बताए ।
भद्रपुर स्थापना गरिएको अस्थायी बिओपीलाई स्थायित्व दिनलाई मेची पुल पारी भद्रपुर नगरपालिका कार्यालयले एक विगहा जमिन दिने निर्णय गरिसकेको र त्यसको प्रक्रिया सुरु भइसकेको बिओपी भद्रपुरका सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले जानकारी दिए । बिओपी स्थापना भएसँगै भद्रपुर भन्सार तथा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी गणबाटै आउनु पर्ने बाध्यता समेत टरेको उनको भनाई छ ।
मलामी विश्राम भवनमा सशस्त्र प्रहरी
मेची नदीमा दाहसंस्कार गर्न जाने मलामीलाई लक्षित गरी नगरवासीहरूबाट सङ्कलित लाखौँ रुपैयाँको लागतमा निर्माण गरिएको सार्वजनिक मलामी विश्राम भवन विगत लामो समयदेखि प्रयोगविहीन अवस्था थियो ।
०६४ सालमा भद्रपुरका उद्योगी पशुराम अग्रवालको संयोजकत्वमा मलामी भवन निर्माण समिति गठन गरी भवन निर्माण गरिएको थियो । लगभग १३ लाख ९५ हजार लागतमा १४ वर्ष अघि निर्माण भएको एक तल्ले विश्राम भवन प्रयोगविहीन बनेपछि सशस्त्र प्रहरीले त्यसलाई प्रयोगमा ल्याए ।
कोरोना भाइरस संक्रमणको महामारीपछि सरकारले सीमा नाका बन्द गराएपछि सशस्त्र प्रहरीले त्यही मौका छोपी सो भवन प्रयोगमा ल्याएको हो । बेवारिसे अवस्थामा रहेको भवनलाई सशस्त्र प्रहरीले मर्मत सम्भारसँगै खानेपानी, बिजुली जडान गरी प्रयोगमा ल्याएको बताइएको छ ।
प्रयोगमा ल्याएको भवनमा स्थापना गरिएको बिओपीमा २७ जना सशस्त्रको दरबन्दी रहेको प्रहरी निरीक्षक विभुराज दाहालले बताए । २७ जनामध्ये ६ जना भन्सार कार्यालय, ६ जना देवीवस्तीमा रहेको अस्थायी पोस्ट र १५ जना बिओपी खटिने उनले बताए ।