ओली आजै झापा आइपुग्ने, भोलि इट्टाभट्टा र गौरीगञ्जमा सम्बोधन गर्ने
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउने भएका छन् । उदयपुर र सुनसरीको सभा सकेर ओली साँझ दमक आइपुग्ने बताइको छ । झापा–१ र ५ को वृहत् चुनावी सभालाई सम्बोधन गर्न ओली झापा आउने पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिएका हुन् ।
भोलि मंसिर १ गते मेचीनगर र गौरीगञ्जको चुनावी सभालाई सम्बोधन गर्न आउने निश्चित भएको छ । नेकपा एमालेले बिहीबार मेचीनगर ७ इटाभट्टामा झापा–१ क्षेत्रीय आमसभाको आयोजना गरेको पार्टीका क्षेत्रीय कमिटी संयोजक टिकाराम मग्रातीले जानकारी दिए । यस्तै, गौरीगञ्जमा समेत चुनावी सभा आयोजना गरिएको नेकपा एमाले झापाले जनाएको छ । मंग्रातीका अनुसार इटाभट्टाको नगरपालिका जाने बाटो पूर्व खाली चौरमा आमसभा हुनेछ । सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बिहान १०ः३० बजे आउने भएका छन् । गौरीगञ्जमा १ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
झापा–१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश १ मा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रविन कोइराला र प्रदेश २ मा तालमेलका आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सबिना बजगाईँ उम्मेदवार रहेका छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार खरेलले पार्टीका अध्यक्ष ओलीबाट झापा १ का आम मतदाताहरूका लागि चुनावी सन्दर्भमा महत्त्वपूर्ण सन्देश लिएर आउने भएकाले सबै आमाबुबा, दिदीबहिनी र दाजुभाइलाई आमसभामा सहभागिताका लागि अपिल गरेका छन् ।
मंसिर ४ को चुनावपछि मुलुकमा नेकपा एमालेको सरकार बन्ने र त्यसको नेतृत्व पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएकाले झापा १ का मतदाता ओलीको चुनावी सभालाई भव्य र सफल बनाउन आतुर रहेको प्रदेश १ का उम्मेदवार कोइरालाले बताए ।
नेकपा एमाले झापाले इट्टाभट्टा र गौरीगञ्जको चुनावी सभालाई सभ्य र भव्य रुपमा सफल बनाउने जनाएको छ । पार्टी अध्यक्ष कार्कीले सबै नेता कार्यकर्ता र शुभचिन्तकहरूलाई सहभागी हुन अपिल समेत गरेका छन् ।