२०८३ बैशाख ३१ गते , विहीबार

भारतको सिलिगुढी-काठमाडौँ अन्तर्राष्ट्रिय बस सेवा आजदेखि सुरु

sajilo news
पार्थ मण्डल
२०७९ असार २२ गते , बुधबार
भारतको सिलिगुढी-काठमाडौँ अन्तर्राष्ट्रिय बस सेवा आजदेखि सुरु

झापा । नेपाल–भारतबीचको मैत्री सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले भारत पश्चिम बंगालको सिलिगुढीदेखि झापा हुँदै काठमाडौँसम्मको दुई वटा यात्रुवाहक बस सेवा आजदेखि सुरु भएको छ । 
नर्थ बंगला स्टेट ट्रान्सपोर्ट कर्पोरेसन (एनबीएसटीसी) र निजी कम्पनी ग्रिन लाइनको पहलमा सिलिगुढी–काठमाडौँ अन्तर्राष्ट्रिय बस सेवा सुरु भएको हो । 
पश्चिम बंगालको यातायात मन्त्री फिरहाद हकिमले बुधवार एक कार्यक्रमकाबीच सो बस सेवाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै यातायात मन्त्री हकिम भने, ‘नेपाल–भारत दुई देशबीचको अन्तर्राष्ट्रिय बस सेवा धेरै पहिला नै सुरु गर्नुपथ्यो, ढिलै भएपनि यस बस सेवाबाट दुवै देशका नागरिकलाई फाइदा पुग्नेछ ।’ यसले गर्दा दुई देशबीचको मैत्री सम्बन्ध अझ प्रगाढ भएर जाने उनले विश्वास व्यक्त गरे ।
एनबीएसटीसीका चियरमेन पार्थ प्रतिम रायले ग्रिन लाइन निजी कम्पनीको सहयोगमा अन्तर्राष्ट्रिय बस सेवा सुरु भएको बताए । उनका अनुसार सिलिगुढीबाट प्रत्येक सोमबार, बुधवार, शुक्रबार र काठमाडौँबाट प्रत्येक मङ्गलवार, बिहीबार र शनिवार बस सेवा सञ्चालन हुनेछ । 
काँकडभिट्टा–पानीटंयाकी नाकादेखि ३० किलोमिटर दुरीमा सिलीगुढी बस पार्क रहेको छ । त्यहाँबाट सुरु हुने बस सेवा काँकडभिट्टा– पानीटंयाकीबाट नेपाल प्रवेश गरी झापाको सडक हुँदै काठमाडौँ पुग्नेछ । सिलिगुढी र काठमाडौँ दुवै स्थानबाट दिउँसो ३ बजे बस सेवा सुरु हुनेछ । ४४ सिट क्षमता भएको बसको भाडा भारु १५०० अर्थात् नेपाली २४०० रुपैयाँ तोकिएको छ ।

सिलिगुढी बस टर्मिनलस्थित काउन्टर वा सम्बन्धित कम्पनीको अनलाइन सेवाबाट टिकट खरिद गर्न सकिने छ । पश्चिम बंगालका अधिकांश मानिस काठमाडौँमा कामको सिलसिलामा रहेका छन् । साथै व्यवसायीक कारोबार र स्वास्थ्य उपचार सेवा लिने नागरिकलाई पनि यस बस सेवाले सहयोग पुर्याउने एनबीएसटीसीका चियरमेन रायले बताए ।    

सम्बन्धित समाचार