२०८१ जेष्ठ ४ गते , शुक्रबार

असंवैधानिक कदमविरुद्ध झापामा जसपाको विरोध प्रदर्शन

sajilo news
पार्थ मण्डल
२०७७ माघ २३ गते , शुक्रबार
असंवैधानिक कदमविरुद्ध झापामा जसपाको विरोध प्रदर्शन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको असंवैधानिक कदमको खारेजीको माग गर्दै जनता समाज पार्टी झापाले विरोध प्रदर्शन गरेको हो । दिउँसो करिब १ बजे गौरीगंज गाउँपालिका वडा नम्बर ६ खजुरगाछी बजारबाट नारावाजी गर्दै शुरु भएको जुलुस गौरीगंज बजार परिक्रमा गरी गौरीगंज चोकमा कोणसभामा परिणत भएको थियो ।
‘असंवैधानिक कदम खारेज गर, संसद पुनस्र्थापना गर, रेशम चौधरीलगायत राजवन्दीहरूको रिहा गर, सम्पूर्ण लोकतन्त्रवादीहरू एक हौं, केपी सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेको थियो ।

जनता समाज पार्टीका जिल्ला अध्यक्ष दिपेन वाला राईले संविधान र लोकतन्त्र रक्षाका लागि सबै लोकतन्त्रवादीहरूले केपी ओलीको संसद विघटनको असंवैधानिक कदमको विरोध गर्नु पर्ने धारणा राखे । ‘केपी शर्मा ओलीलाई दुईतिहाइको मत दिएर ५ वर्षका लागि जनताले जिताएका थिए । तर ओलीले जनताको मतको कदर नगरी संवैधानमाथि नै ‘कु’ गरेर देश र जनतालाई अन्धकारतिर धकेलेका छन् ’ जिल्ला अध्यक्ष राईले जिकिर गरे ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण गणेशले केपी ओलीले आफ्नो व्यक्तिगत स्वार्थका लागि संसद विघटन गरेको भन्दै त्यसलाई विफल बनाउन सबै नेपाली जनताले त्यसको प्रतिकार गर्नु पर्ने बताए । उनले आदिवासी जनजाति, पिछडा वर्ग, मधेशी मुस्लिमका अधिकारहरू यो संविधानले सुरक्षित गरेको हुनाले संविधानलाई रक्षा गर्न आवश्यक रहेको बताए । विरोध सभामा केन्द्रीय सदस्यहरू शंकर राजवंशी, राधा थापा, प्रदेश कमिटी सदस्य तुलसी राजवंशीलगायतले संसद विघटनको विरोध गर्दै संसद पुनस्र्थापनाको माग गरेका थिए । जिल्ला अध्यक्षद्वय दिपेनवाला राई र अनुतसिंंह राजवंशीको अध्यक्षतामा भएको विरोध सभाको सञ्चालन जिल्ला सचिव देवेन्द्रकिशोर ढुंगानाले गरेका थिए ।
जनता समाजवादी पार्टी झापाले केन्द्रको निर्देशन अनुसार केपी ओलीको असंवैधानिक कदमको विरोधमा झापाको कचनकवल गाउँपालिकामा माघ २५ गते पुत्ला दहन र झापा गाउँपालिकामा माघ २८ गते राँके जुलुसको कार्यक्रम राखेको जिल्ला अध्यक्ष राईले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार