२०८३ बैशाख २३ गते , बुधबार

यू-१९ महिला एशिया कपमा नेपालको ऐतिहासिक जित, पाकिस्तानलाई ६ विकेटले हरायो

sajilo news
झापा
२०८१ पौष १ गते , सोमबार
यू-१९ महिला एशिया कपमा नेपालको ऐतिहासिक जित, पाकिस्तानलाई ६ विकेटले हरायो

१९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ।  आज भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपालले ऐतिहासिक जित हासिल गरेको हो।

जितसँगै नेपालले २ अंक जोडेको छ। लगातार दोस्रो खेल हारेको पाकिस्तान भने समूह चरणबाटै घर फर्किएको छ। जितका लागि पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेटमात्र गुमाएर भेट्यो। नेपालको जितमा कप्तान पूजा महतोले विस्फोटक ब्याटिङ गरिन् तर अर्धशतक बनाउनबाट चुकिन्। उनले अविजित रहँदै सर्वाधिक ४७ रनको योगदान गरिन् ।

सिमाना केसी १२ रनमा अविजित रहिन्। उपकप्तान सोनी पाख्रिनले १३ रन जोडिन्। साना प्रविनले १० रन तथा सावित्री धामीले ८ रन बनाइन्।  त्यसअघि मलेशियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनायो। 

उसका लागि कोमल खानले सर्वाधिक ३८ रनको योगदान गरिन्। महाम अनिषले नटआउट २९ रन जोडिन् भने रबिल फरहानले २३ रन तथा कप्तान जुफिशान अय्याजले १२ रन बनाइन्।  बलिङतर्फ नेपाली कप्तान पूजा महत्तोले २ विकेट हात पारिन्।

सम्बन्धित समाचार