यौनजन्य हिंसाबाट झापामा आदिवासी–जनजाति समुदायका बालबालिका बढी पीडित, २८ महिनामा ३९७ हिंसाका घटना
झापा । झापामा बलात्कार तथा यौनजन्य हिंसाका घटना बढिरहेको रहेको पाइएको छ । जसमा १० देखि १८ वर्ष उमेर समूहका आदिवासी–जनजाति समुदायका बालबालिका बढी हिंसामा परेकी छिन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालन रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) अन्तरगत लैङ्गिक हिंसा व्यवस्थापन समिति झापाको वार्षिक समीक्षा बैठकमा सार्वजनिक गरिएको हिंसा सम्बन्धी तथ्यांकमा यस्तो पाइएको हो । जिल्लाको २८ महिनाको तथ्यांक अनुसार बलात्कार, यौन तथा शारीरिक दुर्व्यवहारका ३९७ घटना भएको छ ।
ओसीएमसीका फोकल पर्सन निशुसा शाक्यका अनुसार चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म जिल्लामा ४७ वटा बलात्कार घटना घटिसकेको बताइन् । यौन दुर्व्यवहारका १२ र शारीरिक दुर्व्यवहारका २ घटना भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा ११४ बलात्कार, ५५ यौन दुर्व्यवहार र १० शारीरिक दुर्व्यवहारका घटना घटेको थियो ।
आर्थिक वर्ष २०७९।०८० मा ११८ बलात्कार, ३६ यौन दुर्व्यवहार, ६ शारीरिक दुर्व्यवहार र ३ मानव बेचबिखनको घटना ओसीएमसीको सम्पर्कमा आएको फोकल पर्सन शाक्यले बताइन् ।
हिंसामा पर्ने अधिकांश घटना प्रहरीबाट आउने गरेको बताउँदै उनले भनिन्, ‘आदिवासी–जनजाति समुदायका महिला तथा बालबालिका सबैभन्दा बढी हिंसा परेको देखिन्छ, त्यसपछि ब्राह्मण–क्षेत्री र दलित समुदायबाट रहेको छ ।’
जिल्लाका १५ वटा पालिकामध्ये नगरपालिकातर्फ मेचीनगर र दमक तथा गाउँपालिकातर्फ हल्दिबारी र कचनकवलमा सबैभन्दा बढी घटना भइरहेको छ ।
लैङ्गिक हिंसाबाट विशेषगरी महिला तथा बालबालिकाहरू पीडित र प्रभावित हुने भएकोले उनीहरूको स्वास्थ्य उपचार लगायत कानुनी, मनोसामाजिक परामर्श, सुरक्षा, सुरक्षित आवास र पूनस्र्थापनाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्लाका सरकारी अस्पतालमा ओसीएमसी स्थापना गरेको हो । सोही अनुसार ओसीएमसीले हिंसामा परेकी महिला तथा बालबालिकाहरूको समस्याहरूलाई एकीकृत र प्रभावकारी रूपमा सम्बोधन गर्दै आइरहेको उनले बताइन् ।
मेची प्रादेशिक अस्पतालमा २०७६ सालमा ओसीएमसीको स्थापना भई महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको कार्यक्रम संयोजक डा. मनोजकुमार शाहले बताए । अस्पतालमा डा. शाह, डा. रुपेश गौतम र स्टाफ नर्स जानुका धिमालले हिंसामा परेकाहरूलाई सेवा प्रदान गरिरहेको छ ।
चालु आर्थिक वर्षमा यो कार्यक्रम सञ्चालनका लागि सरकारले १२ लाख बजेट छुट्टाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी तथा लैङ्गिक हिंसा व्यवस्थापन समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको बैठकमा जिल्लाभरि प्रभावकारी रुपमा ओसीएमसी कार्यक्रम सञ्चालन गर्नका लागि विभिन्न बुँदामा निर्णय गरिएको छ । बैठकमा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।रामबाबु खड्का लगायत सहभागीहरूले आआफ्नो धारण राखेका थिए ।