२०८१ माघ २ गते , बुधबार

उद्योगीको सिन्डिकेटले बढाए बिना कारण सिमेन्टको भाउ, निर्माण व्यवसायी महासङ्घद्वारा विरोध

sajilo news
झापा
२०८१ मंसीर १७ गते , सोमबार
उद्योगीको सिन्डिकेटले बढाए बिना कारण सिमेन्टको भाउ, निर्माण व्यवसायी महासङ्घद्वारा विरोध

निर्माण क्षेत्र सुस्ताएसँगै सिमेन्टको माग नहुँदा सिमेन्ट उद्योग सङ्कटपूर्ण अवस्थाबीच गुज्रिएको बताउँदै आएका सिमेन्ट उद्योगीले सिमेन्टको भाउ बढाएका छन् । उनीहरूले प्रतिबोरा एक सय रुपैयाँसम्म भाउ बढाएका हुन् । यसअघि प्रतिबोरा पाँच सय रुपैयाँ रहेको सिमेन्टको मूल्य अब छ सय रुपैयाँ पुगेको छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सञ्चालन खर्चसमेत धान्न मुस्किल भएपछि मूल्य बढाउनुपरेको दाबी गरे । निर्माणको सिजन भए पनि हाल सिमेन्ट उद्योग ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा रहेका उनको जिकिर छ । पटक-पटक गरेर एक महिनामै कार्टेलिङ गरी सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढाइएको भन्दै निर्माण व्यवसायी महासंघले मूल्यवृद्धि खारेजीको माग गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्टलगायत निर्माण सामग्रीको मूल्यवृद्धिको विरोध गर्दै मूल्यवृद्धि नै खारेज गर्न माग गरेको हो । पटक–पटक गरेर एक महिनामा नै कार्टेलिङ गरी सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढाइएको भन्दै महासंघले मूल्यवृद्धि खारेजीको माग गरेको हो । महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सिमेन्टलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी विगत एक महिनाको अवधिमा नै पटक पटक गरी प्रतिबोरा एक सयभन्दा बढी मूल्यवृद्धि गरिएको छ । निर्माण कार्य हुने अहिलेकै सिजनमा सीमित सिमेन्ट उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभावलगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको महासंघको ठहर छ ।’ विगतमा पनि पटक-पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघको भनाइ छ । मूल्यवृद्धि खारेज नभए बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पार्ने महासंघले चेतावनीसमेत दिएको छ ।

महासंघका अध्यक्ष रवि सिंहका अनुसार उद्योगीले हरेक हप्ता २५-३० रुपैयाँले मूल्यवृद्धि गरिरहेका छन् । जसका कारण निर्माण व्यवसायीको घाटा चुलिँदै गएको छ । सिमेन्टको मूल्यवृद्धि गर्ने कुनै कारण नभएको उनको भनाइ छ । कोइलाको मूल्य, इन्धन, विद्युत् महसुल, श्रमिकको ज्याला, ढुवानीदर केहीमा वृद्धि नभएको, सरकारी र निजी क्षेत्र दुवैतिर संरचना निर्माणको काम सुस्त रहेका कारण सिमेन्टको मागसमेत कम रहेको अवस्थामा सिमेन्ट उद्योगीले सिन्डिकेट गरेर मूल्य बढाएको सिंहको आरोप छ । उद्योगले सञ्चालन खर्च धान्न नसकेर कार्टेलिङ गर्नु नहुने, स्वस्थ प्रतिस्पर्धामा आउनुपर्ने उनले बताए । देशका १० ठूला सिमेन्ट उद्योगले आपसमा सरसल्लाह गरेर मूल्य तय गरेर हरेक हप्ता वृद्धि गर्दै आएको निर्माण व्यवसायीको दाबी छ । स्वदेशी सस्तो कच्चा पदार्थ र सस्तो श्रमिकका कारण अन्य उद्योगको तुलनामा मुनाफा बढी हुने गरेकै कारण नेपालमा सिमेन्ट उद्योगमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

नेपाल राष्ट्र बैंकको २०७८ सालको अध्ययनले सरकारी तथा निजी लगानीका उद्योगको तुलनामा विदेशी लगानीका उद्योगको नाफा धेरै रहेको देखाएको छ । उक्त अध्ययनले तीन वर्षमा सिमेन्टको माग दोब्बर हुने निष्कर्ष निकालेको थियो । तर, कोरोना, घरजग्गा कर्जामा कडाइ, आर्थिक मन्दी, सरकारी विकास निर्माणमा सुस्तताका कारण तत्काल सिमेन्टको खपत घटे पनि आगामी दिनमा माग बढ्दै जाने देखिएको छ । किनभने सरकारले पनि नेपालको व्यापार सन्तुलनका लागि प्रमुख वस्तुका रूपमा सिमेन्टलाई राखेको छ । नेपाल व्यापार एकीकृत रणनीति २०७९ निर्यातका उदीयमान वस्तुको सूचीमा सिमेन्टलाई पनि राखिएको छ भने सिमेन्ट उत्पादन वृद्धि र लगानी संरक्षणमा सरकारले जोड दिँदै आएको छ । निर्यात अनुदानको व्यवस्थासँगै नेपाली सिमेन्ट निर्यातसमेत हुन थालेको छ । नेपालमा ओपिसी, पिपिसी र पिएससी गरी तीन थरी सिमेन्ट उत्पादन हुन्छन् । ओपिसीमा ३३, ४३ र ५३ ग्रेड रहेका छन् ।

 

सम्बन्धित समाचार