किङ कोब्राका प्रजातिको खोजी!
किङ कोब्रा सबैभन्दा विषालु सर्पमध्येका एक हो। यो आफ्नो शरीरको एक तिहाइ भाग जमिनबाट माथि उठाउन अर्थात् उभ्याउन र आक्रामकरूपमा अगाडि बढ्न सक्छ।
वैज्ञानिकले निकै घातक विषालु एवं डरलाग्दो सर्प किङ कोब्राका विभिन्न प्रजातिबारेमा ज गरेका छन्। किङ कोब्राको बारेमा विज्ञानले सबैभन्दा पहिले सन् १८३६ मा थाहा पाएको थियो। त्यसबेला डेनमार्कका शोधकर्ता थिओडोर एडवर्ड कान्टरले विश्वलाई यसको बारेमा बताएका थिए।
चार प्रजाति
किङ कोब्राको बारेमा अभूतपूर्व खोज गरेका वैज्ञानिक डा. गौरीशंकर नेतृत्वको अनुसन्धान टोलीले विभिन्न क्षेत्रका २०० भन्दा बढी किङ कोब्राको डीएनए अध्ययन गरी चार प्रजाति रहेको पत्ता लगाएको छ।
जसअनुसार ओफियोफ्यागस कलिंगा प्रजाति जुन भारतको पश्चिमी घाटमा मात्र पाइन्छ। यस्तैगरी, ओफियोफ्यागस हन्ना प्रजातिको किङ कोब्रा पूर्वी पाकिस्तान, उत्तर भारत र उत्तर-पूर्वी भारतमा पाइन्छ। ओफियोफ्यागस बंगारस भारत चीनको क्षेत्रमा बसोबास गर्दछ भने ओफियोफ्यागस साल्वाटाना इण्डो-मलेसिया र फिलिपिन्समा लुजोन द्वीप समूह सम्म पाइन्छ।
शताब्दीयौंदेखि, भारतमा राजा कोब्राको एक मात्र प्रजाति : ओफियोफ्यागस हन्ना पाइन्छ रहेको बताइएको थियो। तर १० वर्षको अनुसन्धानपछि गौरीशंकर र उनको टोलीले किङ कोब्रा विशेष प्रजाति रहेको, जुन पश्चिमी घाटमा मात्र पाइन्छ भन्ने पत्ता लगाएको छ।
कलिंगा कर्नाटकका स्थानीय मानिसले राजा कोब्राको लागि प्रयोग गरेको नामबाट आएको हो। उत्तर कन्नड जस्ता क्षेत्रमा बसोबास गर्ने समुदाय किङ कोब्रासँग डराउँदैनन्।
किङ कोब्राले विषालुसहित अन्य प्रजातिका सर्पलाई खाइदिन्छन्। अन्य सर्प खाइदिएर किङ कोब्राले मानिसहरूलाई सुरक्षित वातावरण प्रदान गर्न मद्दत गर्ने भएकाले तिनीहरूप्रति आकर्षण देखिन्छ। त्यस्तै फिलिपिन्सको लुजोन टापुमा पाइने किङ कोब्रा प्रजातिको नाम ‘साल्भाटाना’ राखिएको छ, जसलाई त्यहाँका स्थानीयले प्रयोग गर्छन्।
सर्पले टोकेपछिको उपचार ठूलो समस्याका रूपमा देखा पर्दै आएको छ, त्यसमा पनि किङ कोब्राले टोके झन् जटिल हुन्छ। संसार भरि किङ कोब्राका चार फरक प्रजातिको खोजले सर्पको विष निकै जटिल रहेको देखाउँछ। सबैखाले सर्पको टोकाइका लागि विशेष औषधी चाहिन्छ। सर्पको विषको प्रभावलाई हटाउने औषधी बनाउन निकै जटिल र महँगो पनि छ।
विश्व स्वास्थ्य संगठनले सबैभन्दा विषालु सर्पको टोकाइको जोखिमलाई हटाउने औषधिको विकासलाई निरन्तर प्राथमिकता दिएको छ। किङ कोब्राका धेरै प्रजाति र त्यसमा पनि ओफियोफ्यागस कलिंगाको खोजले विशेष प्रकारको औषधिको आवश्यकतातर्फ ध्यानाकर्षण गरेको छ।
कोब्रा र किंग कोब्रामा फरक
कोब्रा र किङ कोब्रालाई प्रायः बोलचालमा कोब्रा भनिन्छ, यद्यपि दुवै फरक पिँढीबाट आएका हुन्। दुवैको जीवनशैली, खानपान र व्यवहारमा भिन्नता छ।
वैज्ञानिकहरूका अनुसार कोब्रा नाजा प्रजातिबाट आउँछ भने किङ कोब्रा ओफिओफ्यागस प्रजातिबाट आउँछ। कोब्रा प्रायः कृषि क्षेत्र र शहरी क्षेत्रका साथै मानव बस्ती भएको क्षेत्रमा पाइन्छ। किङ कोब्रा भने प्रायः घना जंगल, उच्च उचाइ क्षेत्र र मान्छे कम भएको क्षेत्रमा पाइन्छ।
कोब्राले आफ्नो अण्डाको रक्षा गर्छ गुँडमा हाल्दैन। किङ कोब्राले भने अनौठो गुँड बनाउँछ र त्यसमा अण्डा राखेर त्यसको सुरक्षा गर्छ। कोब्राले विशेष गरी मुसा, लोखर्के, चरा-भ्यागुता जस्ता साना जनावर खान्छन्। किङ कोब्राले सर्प मात्रै खान्छ, जसमा विभिन्न प्रकारका कोब्रा, करेट र भाइपर जस्ता अन्य विषालु प्रजातिका सर्पहरू पर्छन्।