जर्मनीमा हरेक दुई दिनमा एक महिला आफ्नो पार्टनरबाटै मारिन्छन्
जर्मनीमा लगभग हरेक दुई दिनमा एक महिलालाई आफ्नो श्रीमान वा पूर्वप्रेमीबाट मारिने गरेको तथ्य सार्वजनिक भएको छ। यो चिन्ताजनक अवस्थालाई ध्यानमा राख्दै समाजसेवीहरूले महिला हिंसा अन्त्यका लागि थप पहल गर्न माग गरेका छन्।
फेडरल क्रिमिनल पुलिस अफिसका अनुसार जर्मनीमा २०२३ मा १५५ महिलालाई श्रीमान वा पूर्व प्रेमीहरूले हत्या गरेका थिए। वकिल कोरिना वेहरेन-इस्चर्टले एउटी महिलाको केस सम्झन्छिन् जसका धेरै साना बच्चाहरू थिए।
अदालतले श्रीमानलाई उनीबाट टाढै बस्न आदेश दिएको भए पनि उनीहरूको सम्बन्ध विच्छेदपछि पनि दुई वर्षसम्म उनको पछि लागे। कोरिनान भन्छिन्, ‘त्यो मानिसले महिलालाई ढोकामा आक्रमण गरेर मार्यो। यो भयानक थियो।’
डायना बी (नाम परिवर्तन गरिएको) कोरिनानको ग्राहक पनि हुन्। उनले भनिन्, 'कि उनका पतिले उनलाई धेरैपटक मार्ने धम्की दिएका थिए। त्यसैले श्रीमानलाई आफूले भेट्न नपरोस् भनेर हरसम्भव प्रयास गर्छिन्।'
उनको श्रीमानले उनलाई कुटपिट गरे, उनको घाँटी थिचे र अन्ततः उनलाई धेरै वर्षसम्म गम्भीर चोट पुर्याए। अदालतले उनलाई फेरि कुनै अपराध गरेमा जेल जानुपर्छ भन्ने सजाय सुनाएको थियो। डायना बी आफ्ना छोराछोरीसँग नयाँ ठाउँमा जीवन सुरु गरिन्। उनी बाँचिन्, तर त्यो अन्य सयौँ महिलाहरूको भाग्य उनको जस्तो छैन।
नेताहरूले किन चाल्दैनन् कडा कदम?
जर्मनीका आन्तरिक मन्त्री न्यान्सी फेगरले यस वर्षको सुरुमा भनिन्, ‘यदि महिलाहरूलाई महिला भएको कारण मारिन्छ भने, हामीले यसलाई के भन्ने?’
यी नारी हत्यालाई सम्बन्ध टुट्ने वा ईर्ष्याका कारण हुने घटनालाई दुःखद मात्र भन्न नमिल्ने उनले बताइन्। उनले यी हत्यालाई गम्भीर रूपमा लिनुपर्ने बताइन्। जर्मनीमा नारी हत्या अर्थात् साझेदारले गरेको हिंसालाई छुट्टै अपराधको रूपमा वर्गीकृत गरिएको छैन।
अपराधीहरू हत्याको आरोपमा छन्। जर्मनीको पारिवारिक मामिला मन्त्री लिसा पसले सेप्टेम्बरमा भनिन्, ‘बर्लिनमा हरेक हप्ता दुईवटा नारी हत्याका घटनाहरू छन्। जर्मनीमा प्रत्येक दोस्रो दिन, एक महिलाको उनको साथी वा पूर्व पार्टनरद्वारा हत्या गरिन्छ।’
यी कुराहरूले आफूलाई धेरै चिन्तित तुल्याउने र रिस उठ्ने बताइन्। केही संस्थाहरू र तीस हजारभन्दा बढी व्यक्तिहरूले केन्द्र सरकारलाई २०२१ मा सरकारले हिंसाबाट प्रभावित मानिसहरूलाई अझ राम्रो सुरक्षा प्रदान गर्न कानुन बनाउने वाचा गरेको स्मरण गराउँदै पत्र लेखेका छन्। पसले घरेलु हिंसा विरुद्धको कानूनको मस्यौदा बनाएको तर विभिन्न मन्त्रालयहरू बीचको वार्तामा अलपत्र रहेको बताइन्।
महिला आश्रयका लागि पर्याप्त ठाउँ र पैसा छैन
महिला र घरेलु हिंसालाई रोक्न र लड्न युरोपको इस्तानबुल कन्भेन्सनका अनुसार जर्मनीका आश्रय गृहहरूमा महिला र बालबालिकाका लागि ठाउँको अभाव छ। १४ हजार मान्छे अटाउन थप ठाउँ हुनुपर्छ।
हालै गरिएको एक अध्ययन अनुसार, रोकथाम र संरक्षण सेवाहरूमा धेरै कम खर्च भइरहेको छ। वार्षिक ३० करोड युरो मात्रै खर्च भइरहेको छ भने सरकारलाई वार्षिक १६० करोड युरोसम्म खर्च गर्न सुझाव दिइएको छ।
१ लाख १५ हजार जनसंख्या भएको सहरमा महिलाले सुरक्षा पाउन सक्ने ११ देखि १२ कोठा हुनुपर्ने पसको भनाइ छ। अहिले सात मात्रै छन्। यसको मतलब धेरै महिलाहरू पुन घर फर्किन बाध्य छन्।
‘महिला सुरक्षा खर्चसँग जोडिएको विषय हो’
महिला आश्रयका निर्देशक निसियसले सामाजिक सुविधा पाउनका लागि आवश्यक सर्त नपुगेका महिलाले आफ्नो जीवनयापन आफैँले तिर्नुपर्ने तथ्यको आलोचना गरिन्।
उनी र उनका समर्थकहरूले दान गरिएको पैसाले पीडित महिलाहरूलाई मद्दत गर्छन्। आश्रय गृहबाट प्राप्त राष्ट्रिय तथ्यांकअनुसार आफ्नै खर्च आफैँ बेहोर्नुपर्ने अधिकांश महिला फेरि हिंसाको शिकार हुने गरेको छ।
समाचार संस्था डिडब्लुका अनुसार पारिवारिक हिंसासम्बन्धी कानुनसँग सम्बन्धित मस्यौदा देखेको जनाएको छ। यसमा सबै पीडितलाई नि:शुल्क ‘संरक्षण र कानुनी सल्लाह’को हक दिइने उल्लेख छ।
यसको मतलब जर्मनीले महिलाहरूको लागि पर्याप्त आश्रय गृहहरू उपलब्ध गराउनुपर्छ। महिला हिंसाले समाजका सबै अंगलाई असर गर्छ। यद्यपि, आप्रवासी महिलाहरूको ठूलो हिस्सा आश्रय गृहमा बसिरहेका छन् किनभने उनीहरूलाई थप मद्दत चाहिन्छ।
‘उनीहरूलाई यहाँ प्रायः कुनै पनि परिवारका सदस्यहरू छैनन्,’ निसियसले भनिन्, ‘उनीहरूलाई स्थानीय भाषा राम्रोसँग थाहा छैन।’कोब्लेन्ज प्रहरीका स्लेबेनिगले धेरै महिला आफ्ना पार्टनरबाट छुट्टिएपछि, ज्यान मार्ने धम्की पाएपछि वा घाँटी थिचेर शारीरिक हिंसाको अनुभव गरेपछि खतरामा रहेको बताएको छ।
वकिल कोरिनानका अनुसार ती अपराधिहरू 'अत्यधिक आक्रामक, क्रोधित, हावी र ईर्ष्यालु' हुन्छन्। जब बच्चाहरूले आमामाथि हिंसा भएको देख्छन्, त्यो बालबालिकामाथि हिंसाजस्तै हुन्छन्। यसरी हिंसाको परम्परा पुस्तादेखि पुस्तासम्म चलिरहन्छ। ‘कि त छोरा बुबा जस्तै हिंसक बन्ने वा छोरीहरू सिकार हुन्छन्।
डायना बी उनी आफ्नो पतिलाई फेरि कहिल्यै भेट्न चाहँदिनन् र उनीसँग बस्नु गलत थियो भनेर महसुस गर्छिन्। उनले भनिन्, ‘यदि म ठीक छैन भने, यसको मतलब मेरा बच्चाहरू पनि ठीक छैनन्।’
उनले आफ्नी छोरीलाई सम्झाउँछिन्, ‘यदि कुनै व्यक्तिले उनको अपमान गर्छ वा कुट्छ भने, उसले तुरुन्तै उसलाई छोडिदिनुपर्छ। सहेर बस्नुहुँदैन।'